२०८२ भाद्र ३०

लुटपाट तथा चोरी भएका सामान फिर्ता गर्न राजश्व अनुसन्धान कार्यालयको अनुरोध
  • लुम्बिनी खोज
  • २०८२ भाद्र ३०, सोमबार १३:०० गते

तोडफोड, लुटपाट र चोरीमा संलग्न ब्यक्तिहरुको फोटो तथा भिडियोहरु मार्फत पहिचान गर्ने कार्य भैरहेको भन्दै चोरी गरी लगेका सामाग्री नबुझाएमा कानुन बमोजिम हुने राजश्व अनुसन्धान कार्यालयले स्पष्ट पारेको छ ।
बुटवल ३० भदौ ।
राजश्व अनुसन्धान कार्यालय बुटवलले लुटपाट तथा चोरी भएका सामान फिर्ता गर्न अनुरोध गरेको छ। सोमबार सार्वजनिक सुचना जारी गर्दै भदौ २४ गते आन्दोलनका क्रममा राजश्व अनुसन्धान कार्यालय बुटवलबाट लुटपाट तथा चोरी भएका सामान फिर्ता गर्न अनुरोध गरेको हो।

कार्यालयका अनुसार कार्यालयमा भएको तोडफोड, आगजनी, चोरी एवं लुटपाटबाट धेरै क्षती भएको छ। कार्यालयबाट सवारी साधनहरु टिभी, कम्प्युटर सेट, ल्यापटप, फर्निचर, भाँडावर्तनलगायतका सामाग्रीहरु तथा अन्य विभिन्न स्थानबाट कपडा, जुत्ता, भेप, सेक्स टोयज्, मदिरा, चिनी, चामललगायत सामानहरु लुटपाट भएको कार्यालयले जनाएको छ।

तोडफोड, लुटपाट र चोरीमा संलग्न व्यक्तिहरुको फोटो तथा भिडियोहरुमार्फत पहिचान गर्ने कार्य भैरहेको पनि कार्यालयले जनाएको छ। कोही कसैले कार्यालयबाट सामाग्री लिएको वा प्राप्त गरेको भए ती सामाग्री राजश्व अनुसन्धान कार्यालय बुटवल वा नजिकको प्रहरी कार्यालयमा बुझाइ दिन अनुरोध गरिएको छ।

अन्यथा कानुनबमोजिम सजाय हुने पनि कार्यालयले स्पष्ट पारेको छ।