२०८१ भाद्र २३

बंगलादेशमा आन्दोलन हिंसात्मक बनेपछि नेपाली विद्यार्थीलाई बाहिर ननिस्कन दूतावासको आग्रह
  • लुम्बिनी खोज
  • २०८१ श्रावण २, बुधबार ०८:४५ गते

कोटा प्रणालीको चर्को विरोध, हिंसात्मक बन्यो आन्दोलन
काठमाण्डौं २ साउन ।
बंगलादेशमा सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेका प्रदर्शनहरूमा केही व्यक्तिको मृत्यु भएपछि देशभरि विद्यालय र विश्वविद्यालयहरू अर्को सूचना नभएसम्मका लागि भन्दै बन्द गरिएका छन्।
सरकारी जागरिमा सन् १९७१ मा देशलाई पाकिस्तानबाट स्वतन्त्र तुल्याउने सङ्घर्षमा लडेका मानिसका सन्तानका लागि गरिएको आरक्षण प्रणालीविरुद्ध केही दिनदेखि विश्वविद्यालयका विद्यार्थीहरूले ठाउँठाउँमा र्‍याली गर्दै आएका थिए।
बंगलादेशमा केही सरकारी पदहरू महिला, जातीय अल्पसङ्ख्यक र शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिका लागि पनि आरक्षित गर्ने व्यवस्था छ। त्यहाँ एकतिहाइ पदहरू युद्धको समयका नायकहरू भनी वर्गीकृत गरिएका मानिसका सन्तानका लागि छुट्ट्याइने गरेको छ।
असन्तुष्ट विद्यार्थीहरू उक्त प्रणाली भेदभावपूर्ण भएको तर्क गर्छन्। उनीहरूले सरकारी जागिरमा योग्यताका आधारमा पदपूर्ति हुनुपर्ने माग गरेका छन्। राजधानी ढाकासहित विभिन्न सहरहरूमा यो साता कोटा प्रणालीविरोधी आन्दोलनका समर्थक र उनीहरूका विपक्षीहरूबीच झडपहरू भएका छन्। यसमा विशेषगरी सत्तारूढ दल अवामी लीगको विद्यार्थी सङ्गठन बंगलादेश छात्र लीग (बीसीएल) पनि संलग्न देखिएको छ।
बीबीसीका अनुसार परस्पर विरोधी विद्यार्थी समूहहरूले एकअर्कामाथि इँटा र लट्ठी प्रहार गरेका थिए। प्रहरीले त्यसरी झडपमा संलग्न भएका पक्षलाई छुट्ट्याउन अश्रुग्यास र रबरका गोली प्रहार गरेको छ। त्यस्ता हमलाहरूमा सयौँ मानिसहरू घाइते भएका विद्यार्थी अभियानकर्मीहरूले बताएका छन्।
बाङ्ग्लादेशमा सरकारी जागिरलाई निकै महत्त्व दिएको पाइन्छ। सरकारी जागिरमा आकर्षक तलब हुन्छ।
नेपाली विद्यार्थीलाई बाहिर ननिस्कन दूतावासको आग्रह

बङ्गलादेशमा कोटा विरोधी प्रदर्शन हिंसात्मक बनेर चर्किएपछि ढाकामा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन सचेत गराएको छ ।
दूतावासले बुधवार सूचना जारी गर्दै नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन भनेको हो ।