२०८१ कार्तिक २

बंगलादेशमा आन्दोलनमा २५ जनाको मृत्यु, आन्दोलन हिंसात्मक बनेपछि नेपाली विद्यार्थी स्वदेश फर्कँदै
  • लुम्बिनी खोज
  • २०८१ श्रावण ४, शुक्रबार १०:२७ गते

काठमाण्डौं ४ साउन ।
आरक्षणको विरोधमा विद्यार्थीहरूले गरेको प्रदर्शन हिंसात्मक बन्दै गएपछि बंगलादेशका विभिन्न कलेज तथा विश्वविद्यालयहरूमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई हवाई तथा स्थलमार्गबाट स्वदेश फर्काउन थालिएको अधिकारीहरूले बताएका छन्।
बीबीसीका अनुसार असुरक्षित महसुस गरी स्वदेश फर्कन चाहने विद्यार्थीूलाई आफूहरूले सहजीकरण गरिरहेको ढाकास्थित नेपाली दूतावासका अधिकारीले बताएका छन्। काठमाण्डूस्थित एक अभिभावकले बंगलादेशस्थित केही नेपाली विद्यार्थीहरू आफ्नै पहलमा समेत हवाईमार्गबाट स्वदेश फर्किरहेको बताएका छन्।
परराष्ट्र मन्त्रालय र ढाकास्थित नेपाली राजदूतावासले स्वदेश नफर्की बंगलादेशमै बस्न चाहने विद्यार्थीको पनि त्यहाँको सरकार र कलेज तथा विश्वविद्यालय प्रशासनसँग समन्वय गरी सुरक्षाको प्रत्याभूति गरिएको जनाएका छन्।
कसरी फर्कँदै छन् नेपाली विद्यार्थी
नेपाली कूटनीतिक अधिकारी तथा अभिभावकहरूले दिएको जानकारीअनुसार ढाकाबाट सानो सङ्ख्याका नेपाली विद्यार्थीहरू हवाईमार्ग हुँदै काठमाण्डू आएका छन्। तर त्योभन्दा ठूलो सङ्ख्यामा विद्यार्थीहरू स्थलमार्ग हुँदै नेपाल फर्कँदै छन्।
ढाकाभन्दा बाहिरका विद्यार्थीहरूलाई हामीले स्थलमार्गबाट सुरक्षित बाटो हुँदै भारतीय सीमातर्फ जान सहजीकरण गरेका छौँ,ढाकास्थित नेपाली दूतावासकी द्वितीय सचिव योजना बम्जनले बीबीसीसँग टेलिफोनमा भनिन्।
प्रदर्शन हिंसात्मक बनेपछि बंगलादेश सरकारले इन्टरनेट बन्द गर्नुका साथै टेलिफोन लाइनहरूमा पनि अवरोध गरेपछि बम्जनसँग विभिन्न प्राविधिक अवरोधबीच सङ्क्षिप्त कुराकानी भएको हो।
त्यस क्रममा उनले दिएको जानकारीअनुसार ढाकामा रहेका विद्यार्थीहरू भने हवाईमार्गबाट नेपाल फर्किरहेका छन्।
बिहीवारै केही नेपाली विद्यार्थी स्वदेश फर्किएका थिए भने शुक्रवार मुख्यतः ढाकालाई छलेर स्थलमार्गबाट भारतको पश्चिम बङ्गाल तथा पूर्वोत्तरको राज्य त्रिपुरालगायत क्षेत्र हुँदै विद्यार्थीलाई फर्काइँदै छ।
हामीले त्यसका लागि सवारीसाधन र काजगपत्र मिलाइदिने काम गरिरहेका छौँ,उनले भनिन्।
यहीँ बस्नेका लागि पनि स्थानीय प्रशासन र कलेजहरूसँग समन्वयमा सुरक्षा व्यवस्था गरिएको छ। जान चाहनेका लागि पनि हामीले व्यवस्थापन गरिरहेका छौँ।
यद्यपि हालसम्म कति विद्यार्थी बाङ्ग्लादेशबाट नेपालतर्फ फर्किए र कति बाँकी छन् भन्ने यकिन सङ्ख्या दिन सकिने अवस्था नरहेको उनले बताइन्।

इन्टरनेट बन्द भएकाले हामीले सबै विवरण अद्यावधिक गर्न पाएका छैनौँ। फोनका माध्यमबाट विद्यार्थीहरूसँग सम्पर्क भइरहेको छ र हामीले सहजीकरण गरिरहेका छौँ, उनले भनिन्। बाङ्ग्लादेशमा तीन हजार जति नेपाली विद्यार्थीहरू अध्ययनरत रहेको बताइएको छ ।
नेपालीलाई स्वदेश फर्कन सहजीकरण गरिदिन भारतलाई आग्रह
परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार स्थलमार्गबाट नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन भारतीय बाटो प्रयोग गर्नुपर्ने भएकाले त्यसका लागि सहजीकरण गरिदिन दिल्लीलाई आग्रह गरिएको छ।
ढाकास्थित हाम्रो दूतावासले स्वदेश फर्कन चाहने विद्यार्थीलाई सहजीकरण गरिरहेको छ। उसले आवश्यक समन्वय गरिरहेको छ। हामी निरन्तर दूतावाससँग सम्पर्कमा छौँ, उनले भने।

नेपाली दूतावासका अनुसार बंगलादेशमा तीन हजार जनाभन्दा बढी नेपाली विद्यार्थीहरू अध्ययनरत छन्। त्यसमध्ये अधिकांश चिकित्साशास्त्र अध्ययनका लागि गएकाहरू छन्।
बीबीसीका अनुसार हालसम्म त्यहा २५ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ।