२०८१ आश्विन १

बाङ्ग्लादेशमा प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ प्रदर्शनकारी, ढाकाका सडकमा सेना
  • लुम्बिनी खोज
  • २०८१ श्रावण २१, सोमबार ०९:०२ गते

विविसी नेपाली सेवाबाट

साउन, २१ गते  ।बाङ्ग्लादेशमा सरकारविरोधी आन्दोलनका क्रममा कम्तीमा ९० जनाको मृत्यु भएको भोलिपल्ट सोमवार राजधानी ढाकाको उत्तरा क्षेत्रबाट हजारौँ प्रदर्शनकारीहरूले जुलुस निकाल्न थालेका छन्। उनीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग्दै नाराबाजी गरेका छन्।

बीबीसी बाङ्ग्लाका अनुसार ढाकाका केही स्थानमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भिडन्त भएको छ। बाङ्ग्लाभाषाको पत्रिका ‘प्रोथोम आलो’को अनलाइन संस्करणका अनुसार प्रदर्शनकारीहरू मध्यढाकाको शाहबागतिर जान लाग्दा प्रहरीले साउन ग्रिनेड र अश्रुग्यास प्रहार गरेको छ।

जुलुस हिंसक बन्न सक्ने आशङ्का गर्दै सरकारले ढाकामा सुरक्षाव्यवस्था कडा पारेको छ।

सेनाप्रमुख वाकर-उज-जमानले स्थानीय समयानुसार अपराह्ण २ बजे सम्बोधन गर्न लागेका छन्। ढाका विश्वविद्यालय, बाङ्ग्लादेश टेलिभिजनको मुख्यालय र मेट्रोरेलसहित राजधानीका विभिन्न स्थानमा सैन्य टोलीहरू परिचालन गरिएको छ।

ढाकामा प्रहरीले गस्ती बढाएको छ भने काँडेतार राखेर विभिन्न सडकमा आवतजावत रोकेको छ। अधिकांश सडकहरू खाली देखिन्छन्।

प्रदर्शनकारी र प्रहरीबीच आइतवार ठाउँठाउँमा भिडन्त भएको थियो। अनिश्चितकालीन कर्फ्यू लागेको भए पनि सोमवार बिहानैदेखि राजधानी ढाकामा तनावको अवस्था देखिन्छ।

नागरिक अवज्ञामा सहभागी हुन भन्दै दशौँ हजार प्रदर्शनकारीहरू शाहबाग क्षेत्रबाट जुलुस निकाल्ने तयारीमा थिए। त्यसलाई “ढाकासम्मको लामो मार्च” भनिएको छ। आन्दोलनकारीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरेका छन्।

“कर्फ्यू तोडेर मेरा धेरै साथीहरू र विभिन्न क्षेत्रका मानिसहरू विरोधप्रदर्शनमा सहभागी हुन आउँदै छन्। मानिसहरू ढाकाबाहिरबाट आउँदै छन्। बाहिरबाट आएका प्रदर्शनकारीहरूलाई मानिसहरूले आश्रय दिएका छन्। यो तल्लो तहदेखि भएको आन्दोलन हो,” आन्दोलनकारी विद्यार्थी समूहसँग आबद्ध सायेम फारुकले बीबीसी संवाददाता सौतिक बिस्वासलाई ढाकाबाट फोनमा भने।

फारुकका अनुसार मानिसहरू २० किलोमिटर लामो बाटो हिँडेर ढाका विश्वविद्यालय जान लागेका छन्।

“सबै कुरा बन्द छ। असहयोग आन्दोलन चलेको छ। विद्यालय, कार्यालय र अदालतहरू बन्द छन्,” उनले भने।

उनका अनुसार विद्यार्थीहरूले स्थानीय समायानुसार अपराह्ण २ बजे भेला भएर के गर्ने भन्ने निर्णय गर्ने छन्।

इन्टरनेट चल्न थाल्यो

सोमवार बाङ्ग्लादेशभरि इन्टरनेट पूरै बन्द गर्ने आदेश अधिकारीहरूले दिएको विवरण आएको थियो। प्रदर्शनकारीहरूबीच सञ्चार र समन्वय गर्न असहज होस् भनेर त्यसो गरिएको ठानिएको छ।

तर दिउँसो इन्टरनेट फेरि चल्न थाल्यो।

बाङ्ग्लादेशको कुल जनसङ्ख्या १७ करोडमध्ये अधिकांश मानिसले इन्टरनेट चलाउँछन्।

राजधानी ढाकामा आइतवार मोबाइल उपकरणहरूमा प्रयोग गरिने इन्टरनेट बन्द गरिएको थियो। बाङ्ग्लादेशको दूरसञ्चार नियामक निकायका अधिकारीले फोरजी इन्टरनेट बन्द गरिएको बीबीसी बङ्ग्लासँग बताए थिए। फेसबुक र ह्वाट्स्यापजस्ता सामाजिक सञ्जालमा पनि प्रतिबन्ध लगाइएको विवरण सार्वजनिक भएको थियो।

सोमवार बिहान बाङ्ग्लादेशमा धेरै पढिने ‘द ढाका ट्रिब्यून’ र ‘बाङ्ग्ला ट्रिब्यून’का वेबसाइटहरू बन्द भएका थिए। अर्को लोकप्रिय समाचार वेबसाइट ‘डेली स्टार बाङ्ग्ला’ पनि खुलेको थिएन। तर दिउँसोदेखि ती वेबसाइट फेरि खुले।

आइतवारको प्रदर्शनका क्रममा झन्डै २०० जना घाइते भएको विवरण आएका छन्।

राजधानी ढाकाको मुख्य चोकमा हजारौँ मानिसहरू भेला भएका थिए। सहरका अन्य भागमा पनि हिंसात्मक घटनाहरू भएको विवरण आएका छन्।

सरकारविरुद्ध अवज्ञा आन्दोलनको घोषणा गरेका प्रदर्शनकारी विद्यार्थीहरूले मानिसहरूलाई सरकारलाई कर र पानी, बिजुली लगायतका बिलको पैसा नतिर्न आह्वान गरेका छन्।

केही साताअघि कोटा प्रणाली खारेजीको माग गर्दै प्रदर्शन थालेका विद्यार्थीहरू नै अहिले प्रधानमन्त्रीको राजीनामाको मागसहित आन्दोलित भएका हुन्।

बाङ्ग्लादेशमा हिंसा सुरु भएपछि अहिलेसम्म कम्तीमा ३०० जनाको मृत्यु भएको तथ्याङ्क समाचारसंस्था एएफपीले सार्वजनिक गरेको छ। उक्त सङ्ख्या प्रहरी, सरकारी अधिकारी र अस्पतालमा कार्यरत चिकित्सकहरूबाट सङ्कलित विवरणका आधारित छ।

एएफएपीका अनुसार आइतवार एकैदिन ९४ जनाको ज्यान गएको थियो।