२०८२ आश्विन २७

प्राविधिक विश्वविद्यालयले अझ विश्वास जित्नका लागि थप परिश्रम गर्नुपर्छः मुख्यमन्त्री आचार्य
  • लुम्बिनी खोज
  • २०८२ आश्विन २६, आईतवार १०:३२ गते

लुम्बिनी २६ असोज ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयले विद्यार्थीहरूको आकर्षण बढाउन थालेपछि विश्वविद्यालयप्रति नयाँ आशा पलाएको बताएका छन ।

आइतबार विश्वविद्यालयको सातौं सभालाई बाँकेमा सम्बोधन गर्दै उनले विश्वविद्यालयलाई उत्कृष्ट र नमुना संस्थाका रूपमा विकसित गर्न साझा प्रयास आवश्यक रहेकोमा जोड दिए । पछिल्ला ६–७ महिनामा गरिएको मेहनतले आशाको किरण जगाएको उल्लेख गर्दै उनले विश्वविद्यालयले अझ विश्वास जित्नका लागि थप परिश्रम गर्नुपर्ने बताए ।
उनले लुम्बिनी प्राविधिक विश्वविद्यालय भौगोलिक रूपमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको संगम स्थल भएकाले यसले तीनवटै प्रदेशका विद्यार्थीलाई आकर्षित गर्न सक्ने क्षमता रहेको बताए । यो विश्वविद्यालयलाई धेरै हिसाबले मन्थन गरेर उत्कृष्ट बनाउन सकिन्छ, उनले भने, सरकारको तर्फबाट आवश्यक सहयोग र साथ रहनेछ ।
सभामा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले पनि विश्वविद्यालयले विद्यार्थीमा विश्वास जगाउदै दक्ष प्राविधिक जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिए ।
सातौं सभामा विश्वविद्यालयका विभिन्न आर्थिक, शैक्षिक र प्रशासनिक विषयमा प्रस्तावहरूमा छलफल गरिएको थियो । आर्थिक वर्ष २०८१।०८२ को वार्षिक प्रगति प्रतिवेदन र २०८२।०८३ को बजेट स्वीकृति, अध्ययन संस्थान तथा केन्द्रहरूलाई आर्थिक व्यवस्थापन अधिकार प्रदान गर्ने, शिक्षक–कर्मचारी सेवा विनियममा संशोधन, करार कर्मचारी व्यवस्थापन कार्यविधि सुधार, र कृषि, वन तथा पर्यटनका शैक्षिक कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्तावहरू समावेश थिए ।