२०८१ श्रावण १२

तिलोत्तमालाई दोस्रो पटक उत्कृष्ट नगरपालिका पुरस्कार
  • लुम्बिनी खोज
  • २०७८ फाल्गुन २९, आईतवार १७:०१ गते

बुटवल, २९फागुन ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगातार दोस्रो पटक उत्कृष्ट नगरपालिका पुरस्कार प्राप्त गरेको छ । मुलुकभरका महानगर, उप–महानगर र नगरपालिकाहरुको छाता संगठन नेपाल नगरपालिका संघले सो पुरस्कार प्रदान गरेको हो । आर्थिक वर्ष २०७७÷०७८ मा सामाजिक विकास क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेकोले त्यसको मूल्यांकन गर्दै पुरस्कार प्रदान गरिएको संघले जनाएको छ ।

तिलोत्तमाले गत वर्ष शहरी सेवा प्रवाह तथा सुशासन विधामा पुरस्कार प्राप्त गरेको थियो । संघले आफ्नो २९ औं वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पुरस्कार प्रदान गरेको छ । तिलोत्तमासँगै अन्य विधामा निलकण्ठ, वालिङ, हरिवन, पुतलिबजार, ईलाम र राप्ति नगरपालिका पनि पुरस्कृत भएका छन् । संघले हरेक वर्ष उत्कृष्ट नगरपालिकाहरुलाई पुरस्कार प्रदान गर्दै आएको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरे र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई उत्कृष्ट नगरपालिका पुरस्कार—२०७८ स्वरुप कदर पत्र प्रदान गरे । सो अवसरमा तिलोत्तमा नगर प्रमुख घिमिरेले नगरपालिकाले प्राप्त गरेको पुरस्कारमा सबै जनप्रतिनिधि, कर्मचारीलगायत सम्पूर्ण नगरबासीको योगदान रहेको बताए ।
उनँले सबैको सहकार्य, सहयोगले तिलोत्तमाले रचनात्मक काम गर्न सकेको भन्दै आगामी दिनमा अझै रचनात्मक काम गर्ने प्रतिबद्धता व्यक्त गरे । संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले विभिन्न सूचकका आधारमा उत्कृष्ट घोषणा गरिएको बताए ।