२०८१ आश्विन ४

थामेमा २ हिमताल फुटेपछि बाढी आएको पुष्टि
  • लुम्बिनी खोज
  • २०८१ भाद्र १, शनिबार ११:०२ गते

बुटवल १ भदौ ।
सोलुखुम्बुको थामेमा हिमताल फुटेर बाढी आएको पुष्टि भएको छ। राष्ट्रिय जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीले शनिवार हेलिकोप्टरबाट अध्ययन अवलोकन गरेर दुईवटा हिमताल फुट्दा थामेमा बाढीको विपत्ति आएको निश्कर्ष निकालेको हो।
टाँसिलाप्चा क्षेत्रमा रहेका पाँचवटा हिमताल र दर्जनौँ पोखरीहरूमध्ये दुईवटा हिमताल फुटेको र त्यसले अन्य स–साना पोखरी र हिउँ जमेको ठाउँ फुट्दा ठूलो बाढीको रूप लिएको राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलिले जानकारी गराएको छ।
प्राविधिक टोलीले थप हिमतालहरू फुट्ने जोखिममा रहेकाले सतर्क रहन सूचित गरेको छ ।

राहत उद्धारको काम सुरु
थामेका बाढी प्रभावितलाई राहत वितरण तथा उद्धारको काम सुरु भएको छ। नेपाली सेना र नेपाल प्रहरीले प्रभावित क्षेत्रका स्थानीयलाई सुरक्षित ठाउँमा सारेका छन्।
थामेबाट करिब एक सय स्थानीयलाई उद्धार गरेर नेपाल आर्मीको क्याम्प, सामुदायिक भवन र गुम्बाहरूमा राखिएको छ।

हिमताल फुटेर थामे खोलामा आएको बाढीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका– ५ थामे गाउँमा दुई दर्जनभन्दा बढी घरमा क्षति पुर्याएको थियो । १२ वटा घर बगाएको भए पनि अन्य आसपासका घरहरूमा समेत बाढी पसेको छ।
थामेका होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालयसमेत नष्ट भएका छन्। बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ। सगरमाथा क्षेत्रको पर्यटकीय गाउँ थामे बाढीले खण्डहर बनेको छ। मितेरी पुल बगाउँदा खुम्बु पासाङल्हामु गाउँपालिकासँग सीधा सम्पर्क टुटेको छ। थामे खोला आसपासमा पैदलयात्रा गर्ने बाटोसमेत छैन। सोलुखुम्बुको तल्लोतटीय क्षेत्रमासमेत बाढीले क्षति गरेको छ। ओखलढुंगा र खोटाङका दुधकोशी किनारका बस्तीमा समेत उच्च सतर्कता अपनाइएको छ।