२०८३ भाद्र २२

रसुवा बाढीपहिरोमा ज्यान गुमाएकाप्रति लुम्बिनीमा दीप प्रज्वलन
  • लुम्बिनी खोज
  • २०८३ भाद्र २२, सोमबार १४:२७ गते

बुटवल, २२ भदौ ।

रसुवा जिल्लामा आएको भीषण बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति लुम्बिनी प्रदेशमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको छ ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा सोमबार साँझ दीप प्रज्वलन कार्यक्रम आयोजना गरी विपद्मा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तीमगर, प्रदेश सरकारका मन्त्री, प्रदेश सभा सदस्य, मन्त्रालयका सचिव तथा कर्मचारीहरूको सहभागिता थियो ।

कार्यक्रममा सहभागीहरूले विपद्मा परी ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए । साथै, बाढी तथा पहिरोमा परी बेपत्ता भएकाहरूको शीघ्र खोज तथा उद्धार होस् भन्ने कामना गर्दै प्रार्थना गरिएको थियो ।

लुम्बिनीका २४५ जना बेपत्ता

रसुवामा आएको भीषण बाढी तथा पहिरोका कारण ठूलो मानवीय क्षति भएको छ । बाढीपहिरोमा परी लुम्बिनी प्रदेशका २४५ जना नागरिक बेपत्ता भएको र पाँच जनाको मृत्यु भएको विवरण प्रदेश सरकारले सार्वजनिक गरेको छ ।

आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयका सचिव भरतमणि पाण्डेका अनुसार बेपत्ता भएकाहरूका परिवारजन अहिले आफन्तको खोजी तथा सुरक्षित फिर्तीको प्रतीक्षामा छन् ।

उद्धार र खोजीमा प्रदेश सरकारको समन्वय

विपद्को यस घडीमा प्रभावित परिवारलाई सहयोग, उद्धार तथा बेपत्ता नागरिकको खोजीका लागि आवश्यक समन्वय गर्दै आएको प्रदेश सरकारले जनाएको छ ।

यसअघि प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा तीन करोड रुपैयाँ सहयोग गर्ने तथा मुख्यमन्त्री र मन्त्रीहरूको आधा महिनाको पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरिसकेको छ ।

यसैगरी, नारायणी नदीमा बगेर आएका शवहरूको व्यवस्थापनमा समेत लुम्बिनी प्रदेश सरकारले सहयोग गर्दै आएको जनाएको छ ।

प्रदेश सरकारले विपद्मा परेका नागरिकको उद्धार, खोजी तथा प्रभावित परिवारलाई आवश्यक सहयोगका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ ।