२०८१ आश्विन १

दिवङ्गत आफन्तको सम्झना गरि आज गाईजात्रा पर्व मनाइँदै
  • लुम्बिनी खोज
  • २०८१ भाद्र ४, मंगलवार ०९:१२ गते


विकृतिविरुद्ध हास्यव्यङ्ग्यका रुपमा गाईजात्रा

बुटवल , ४ भदौ ।
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म जम्मा ८ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाईँदैछ ।
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई अथवा मानिसलाई गाईका रूपमा सिँगार, पटारगरी आआफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धा एवम् भक्तिपूर्वक दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै विभिन्न अन्न र द्रव्य दान गरिन्छ । यसरी गाउँ अथवा नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहिआएको छ ।

नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सरकारले गाईजात्रा पर्व मनाउदा विशेष स्वास्थ्य सावधानी अपनाउन अनुरोध गरेको छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान र मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाउने चलन छ ।
दशकौंदेखि गाईजात्रा पर्वलाई व्यङ्ग्यात्मक ढङ्गले नेपाली समाजमा उतार्ने गरिएको छ । विशेषत यस पर्वका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गरिन्छ ।
मुलुकमा झण्डै ३० वर्षसम्म कायम रहेको पञ्चायती शासनकालमा व्यवस्था र ठूलाबडाको विरोध गरेको खण्डमा कठोर यातना सहित जेलको समेत सजाय हुने प्रचलन थियो । तत्कालिन समयमा वर्षमा एक दिन अर्थात आजकै दिन देशका विभिन्न भागमा गाईजात्राका नाममा राजनीतिक तथा सामाजिक क्षेत्रमा देखिएका विक्रिति तथा विसंगतीहरुका विरुद्ध खुला कार्यक्रमहरुको आयोजना गर्ने चलन थियो । आजकै दिन विभिन्न पत्रपत्रिकाहरुले गाईजात्रा विशेष अंक प्रकाशित गर्दथे भने विभिन्न म्युजिक कम्पनीहरुले पनि हास्यव्यङ्ग्य अङ्क प्रकाशित गर्दथे । वि।सं।२०४६ साल चैत २६ गते बहुदलीय व्यवस्थाको घोषणा भएपछि यस्ता प्रचलनहरु क्रमश मधुरा हुँदै गएका छन् ।

गाईजात्रा पर्व काठमाडौं उपत्यका लगायत काभ्रोको बनेपा, धुलिखेल, पनौती, सिन्धुपाल्चोकको बाह्रबिसे, नुवाकोटको त्रिशूली, दोलखाको चरिकोट, खोटाङको दिक्तेल र खोटाङ बजार, भोजपुरको भोजपुर बजार, टक्सार बजार, संखुवासभाको चैनपुर बजार, इलामको इलाम सदरमुका, सुनसरीको धरान बजार, मोरङको विराटनगर, मकवानपुरको हेटौँडा, पाल्पाको तान्सेनबजार र पोखरालगायत नेवार समुदायका मानिसको विशेष बसोबास रहेका क्षेत्रहरुमा धूमधामका साथ मनाईन्छ ।
आजको दिन गाईजात्रा पर्वमा सहभागी कलाकार र दर्शकेहरुलाई पानी, फलफूल, अन्न जस्ता खाद्यपदार्थ दान गर्दा पितृहरुको मोक्ष हुने र अनन्त पूण्य प्राप्त हुने धार्मिक तथा साँस्कृतिक मान्यता रहँदै आएको छ ।