२०८१ आश्विन १

पाकिस्तानमा वर्षाका कारण १९ जनाको मृत्यु
  • लुम्बिनी खोज
  • २०८१ भाद्र ४, मंगलवार ०९:३४ गते

बलुचिस्तान (पाकिस्तान) । पाकिस्तानको बलुचिस्तानमा सोमबारको भारी बर्षाका कारण १९ जनाको मृत्यु भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए)ले जनाएको छ ।

डन न्युजका अनुसार मनसुनी वर्षाले मानवीय तथा भौतिक क्षति पुर्‍याउँदा अन्य ११ जना घाइते भएका छन् भने तीन हजारभन्दा बढी व्यक्तिहरू प्रभावित भएका छन् ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) का अनुसार जुलाई–१ देखि अगस्ट–१७ सम्म वर्षाजन्य घटनामा १९५ जनाको मृत्यु हुनुका साथै ३६२ जना घाइते भएका छन् । यसैगरी, विपद्का कारण दुई हजार २९३ घरहरू क्षतिग्रस्त भएका छन् ।

पिडिएमएका अधिकारी युनस मेङ्गलले हालैको वर्षाले बलुचिस्तान प्रान्तका १६ जिल्लाहरू प्रभावित भएको तथा राहत कार्य जारी रहेको बताउनुभएको छ । बलुचिस्तानले जुलाई–१ देखि हालसम्म दुई गम्भीर मनसुन घटनाहरूको सामना गरेको डन न्युजले जनाएको छ ।

वर्षाजन्य प्रकोपको परिणामस्वरुप प्रान्तीय सरकारले कलात, जियारत, अवारन, कच्छी, लोरालाई, सोहबतपुर र लासबेलाका जिल्लाका धेरै युनियन तथा काउन्सिलमा आपतकाल घोषणा गरेको छ ।

सबैभन्दा बढी कलातमा त्यसपछि उस्ता मुहम्मद र सबिबीमा वर्षा भएको रेकर्ड भएको छ ।

सोहबतपुरकी बलुच उपमायुक्त फरिदा तरीनले जुडाइर नदीमा जल सतह बढेको बताउँदै यस क्षेत्रमा आएको बाढीले धान खेतमा क्षति पुगेको जानकारी दिनुभयो ।

बलुचिस्तानको राष्ट्रिय राजमार्ग प्राधिकरणका महाप्रबन्धक आगा इनायतुल्लाले उत्तरी बलुचिस्तानका सबै राष्ट्रिय राजमार्गहरू खुला रहेको र अधिकारी र ठेकेदारहरूले बाढीको क्षति मर्मत र सडक पहुँच कायम राख्न प्रयास गरिरहेको बताए। एजेन्सीको सहयोगमा