२०८२ असार ९
राजमोको बुटवल नगर भेला सम्पन्न
बुटवल, ५ चैत ।
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सभासद दुर्गा पौडेलले प्रतिगमनको खतरा कामयै रहेको बर्तमान अवस्थामा जनमोर्चाले संघर्ष एकता संर्घषको नीति अवलम्बन गर्दै स्थानिय निर्वाचनमा चुनावी तालमेल गर्ने कुरालाई प्राथमिकतामा राखेको बताएकी छन ।
उपाध्यक्ष पौडेलले शनिवार राष्ट्रिय जनमोर्चा बुटवल उपमहानगरपालिकाको नगर भेलालाई सम्बोधन गर्दै ५ दलिय गठबन्धनमा आफ्नो पार्टी नरहेको अबस्थामा पनि प्रतिगमनको खतरा रोक्न चुनावी मोर्चालाई सधै खुल्ला राखेको धारणा राखिन । उनले राष्ट्रीयता, गणतन्त्र र धर्मनिरपेक्षतालाई खारेज गर्ने उद्देश्यले भैरहेका प्रतिगमनकारी शक्तिलाई परास्त गर्दै संविधानको रक्षा गर्नु अहिलेको प्रमुख राजनीतिक मुद्दा बन्नु पर्ने कुरामा जोड दिएकी थिइन । पौडेलले एमसीसी जस्तो राष्ट्रघाती संझौतालाई बर्तमान सरकारले संसदबाट जालझेल गरि पारित गरेको प्रति विमति जाहेर गर्दै यो मुद्दालाई स्थानिय निर्वाचनमा जनताको माझमा पु¥याउने दायित्व आफ्नो पार्टीको काधमा आएको जिकिर गरिन । उनले निर्वाचनमा उच्च मनोबलका साथ जनतामा जान नेता कार्यकर्तालाई आग्रह गर्दै आगामी स्थानीय निर्वाचनलाई प्रतिगमनविरुद्धको संघर्षकै रुपमा उपयोग गर्नुपर्नेमा जोड दिइन ।
राजमोका नगर अध्यक्ष पदमप्रसाद श्रेष्ठको अध्यक्षता सचिव गंगालाल सापकोटाको सञ्चालन तथा उपाध्यक्ष केपी पोखरेललको स्वागतमा भएको कार्यक्रममा चेतनाथ आचार्य, दुर्गा खरेल, ढुण्डीराज शर्मा, टानबहादुर केसी लगायत बोलेका थिए । भेलाले आगामी स्थानिय निर्वाचन लक्षित १५ दिने प्रारम्भिक कार्यक्रम तय गरेको छ । जसमा वडा भेलाहरु, कार्यकर्ता प्रशिक्षण तथा उम्मेदवार छनौट प्रक्रियाहरुको थालनी गर्ने जनाइएको छ । त्यस अवसरमा अन्य दलहरुसंगको छलफललाई पनि अगाडी बढाउने निर्णय भएको छ । भेलाले निर्वाचन परिचालन समिति, प्रचारप्रसार तथा आर्थिक व्यवस्थापन समिति पनि गठन गरिएको सो पार्टीले जनाएको छ ।