२०८१ मंसिर २१
बुटवल ३० कात्तिक ।
पूर्वको मेचीनगरबाट सुरु भएको नेपाली काँग्रेसको युवा संकल्प यात्रा बुटवल आईपुगेको छ । बिहिबार राती बुटवल आएको युवा संकल्प यात्राको टोलीले शुक्रबार बिहान बुटवल मैनावगर स्थित काँग्रेसको पार्टी कार्यालयमा पार्टीका नेता कार्यकर्तासंग भेटघाट गर्यो ।
त्यस अवसरमा युवा संकल्प यात्राका संयोजक काँग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले विभिन्न १० वटा एजेण्डालाई केन्द्रमा राखेर यात्रा गरिएको बताए । उनका अनुसार युवालाई देशभित्रै रोजगारी, भ्रष्टाचार निवारण, सुशासन, महंगी र मुल्यबृद्धि नियन्त्रण, युवा उद्यमशिलता विकास, सहकारीमा भएको अपचलनको छानविन गरी दोषीलाई कारवाही गर्नको लागि दवाव दिन पूर्वपश्चिमको यात्रा गरिएको हो ।
देशमा रोजगारी अभावका कारण वैदेशिक रोजगारीको लागि युवा पलायन भईरहेको भन्दै उनले युवा जोश जाँगरलाई स्वदेशमै उपयोग गर्नेगरी देशभित्रै रोजगारीको सुनिश्चितता गर्नुपर्ने र रोजगारी उपलब्ध गराउन सकिँदैन भने युवालाई उद्यमसंग जोड्ने कार्यक्रम ल्याउनु पर्ने बताए ।
त्यसको लागि नेपाली काँग्रेसले पनि योजना बनाउनुपर्ने र सरकारमा पैरवी गर्नुपर्ने भनाई राखे। उनले युवा संकल्प यात्रामा पार्टीका नेता कार्यकर्तासंगै युवा, विद्यार्थी, किसान, मजदुर सबै खाले व्यक्तिहरुलाई भेटघाट गरी आफ्ना कुराहरु पनि राख्ने र उनीहरुसंग पनि सुझाव सल्लाह लिईने शाहीले बताए ।
त्यसरी प्राप्त सुझावहरुलाई लिपिवद्ध गरेर प्रतिवेदन बनाईने र पार्टीलाई र सरकारलाई बुझाईने पनि उनले बताए ।
त्यस अवसरमा नेपाली काँग्रेस बुटवल उपमहानगर सभापति तथा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले आफ्नो नेतृत्वको स्थानीय सरकार बुटवल उपमहानगरपालिकाले युवालाई सीपसंग जोड्न र स्वरोजगार बनाउनको लागि विभिन्न प्रकारका सीपयुक्त तालिम प्रदान गरिएको, परम्परागत पेसा व्यवसायलाई स्तरोन्नती गर्नको लागि अनुदान प्रदान गरिएको बताए ।
कार्यक्रममा युवा संकल्प अभियानकी प्रेमिका राना, नेपाली काँग्रेस बुटवल उपमहानगर समितिका उपसभापति ज्योती भण्डारी, सचिव गंगा पन्थी लगायातले धारणा राखेका थिए । यहि कात्तिक २३ गते पूर्वको मेचीनगरबाट सुरु भएको युवा संकल्प अभियान मंसिर ४ गत पश्चिमको महेन्द्रनगरमा पुगेर समापन गरिने अभियानकी सदस्य प्रेमिका रानाले बताइन् । यो अभियान शुक्रबार बुटवल हुँदै कपिलबस्तु प्रस्थान गरेको छ ।