२०८२ असार ९

दिगो शान्ति र विकासको लागि माओवादीले जित्नुपर्छ: प्रचण्ड
  • लुम्बिनी खोज
  • २०७८ चैत्र १४, सोमबार १७:०३ गते

रोल्पा । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिगो शान्ति र विकासको लागि माओवादीले जित्नुपर्ने बताएका छन । प्रचण्डले अहिलेको सम्पूर्ण परिवर्तनको कारक जनयुद्ध नै भएको दोहो¥याएका थिए ।
रोल्पामा बन्दुक बोकेका जनमुक्ति सेनाको शालिक अनावरण तथा जनयुद्ध स्मारक भ्यू टावरको उद्घाटन गर्दै जनयुद्धका सुप्रिम कमाण्डरसमेत रहेका गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री प्रचण्डले गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता, समतामूलक न्याय र समृद्धिको एजेन्डा माओवादी जनयुद्धकै भएको बताए ।
रोल्पाले युद्व र शान्ति दुवैको नेतृत्व गरेको दृष्टान्त पेश गर्दै प्रचण्डले विकासको पनि नेतृत्व रोल्पाले गर्न सक्ने बताए । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाइ सम्झँदै प्रचण्डले रोल्पाबाटै शान्तिको पनि विजारोपण भएको बताए ।

प्रचण्डले रोल्पालाई जनयुद्धको किल्लामात्रै नभएर जनयुद्धको स्मारकको रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्नु पर्ने बताए । रोल्पाको लिबाङ नगरपालिकाले निर्माण गरेको जनयुद्ध स्मारक भ्यू टावरले जनयुद्धको भूमिका र औचित्य थप पुष्टि गरेकोे पनि उनको भनाई थियो ।
प्रचण्डले प्रतिगामीहरू फेरि सलबलाउन लागेको भन्दै रोल्पालीले खबरदारी गर्नुपर्ने बताए । उनले गठबन्धनको भर नगरेर आफ्नै बलमा निर्वाचन लड्न कार्यकर्तालाई निर्देशन दिए ।
प्रचण्डलाई रोल्पामा सहिद परिवार तथा माओवादी नेतृ जयपुरी घर्तीले स्वागत गरेकी थिइन । सो अवसरमा रोल्पाका माओवादी नेता कार्यकर्ताहरूले माला लगाएर प्रचण्डलाई स्वागत गरेका थिए ।
यसैबीच माओवादी केन्द्रले रोल्पा सदरमुकाम लिबाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अहिले पनि प्रतिक्रियावादीहरु राम्रो कुरा उल्ट्याउनका लागि लागि रहेका छन्। त्यसविरुद्ध हामी हतियारबिना लडिरहेका छौं । लडाइँ उस्तै छ । हामीलाई घेरा हालेर सक्न खोजेका छन्, हामी घेरा तोडेर विजय हुन खोजिरहेका छौं।’
रोल्पा क्रान्तिका लागि मात्रै नभई शान्तिपूर्ण रुपान्तरणका लागि पनि अब्बल रहेको भन्दै प्रचण्डले शान्तिपूर्ण रुपान्तरण र विकासमा पनि योगदान गरिरहेको बताए । रोल्पालीकै योगदानका कारण संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भन्दै प्रचण्डले भने, ‘रोल्पा लाल किल्ला थियो, छ र रहिराख्ने छ। तपाईंहरुको योगदान नभएको भए यो देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आउने थिएन । सबैले राज्यमा राज्यमा प्रतिनिधित्व पाउने सम्भावना थिएन।’