२०८१ पुष ८

नवीनका विद्यार्थीहरुले मानवसेवा आश्रममा गराए भोजन
  • लुम्बिनी खोज
  • २०८१ मंसिर २१, शुक्रबार १५:२६ गते

बुटवल २१ मङ्सिर ।
नवीन औद्योगिक कदर बहादुर रिता मावि देवीनगरमा कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीहरूले मानवसेवा आश्रम तिलोतमा रहेका सहयोगापेक्षीहरूलाई बिहानको भोजन गराएका छन्। शैक्षिक अवलोकन भ्रमणमा जाँदा सङ्कलन गरी बाँकी रहेको रकमबाट विद्यार्थीहरुले भोजन गराएका हुन् ।
विद्यार्थीहरूले शैक्षिक अवलोकन भ्रमणमा जाँदा सङ्कलन गरी बाँकी रहेको रकम मानवीयता कार्य अन्तर्गत १०८ जना पुरुष २५ जना महिला र १७ जना बालबालिका गरी १५० जनालाई शुक्रबार भोजन गराएका हुन् ।
विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतको प्रमुख आतिथ्यता ,सहायक प्रधानाध्यापक रोमनाथ घिमिरेको विशिष्ट आतिथ्यतामा आयोजित कार्यक्रमको संयोजन वित्तशास्त्र विषय शिक्षक डा. विष्णु घिमिरेले गरेका थिए।


उक्त अवसरमा विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले मानवसेवा आश्रमको कामको प्रशंसा गरेका थिए। मानवसेवा आश्रमको चाहना सबैका लागि खाना, नाना ,छाना, स्वास्थ्य र शिक्षा दिँदै बेसहारा, अशक्त ,असहाय ,अनाथ ,अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोरहरूलाई मानवीयताको महान अभियानमा अगुवाई गरेकोमा मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीको खुलेर प्रशंसा गरेका थिए।
मानव सेवा आश्रम रूपन्देही जिल्ला संयोजक टिका थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा व्यवस्थापन समूह कक्षा १२ की विद्यार्थी रिजा भट्टराईले समेत धारणा राखेकी थिइन्।


मानव सेवा आश्रम अन्तर्गत सातवटा प्रदेशमा १९ वटा जिल्लामा र २५ स्थानमा सेवा केन्द्रहरू सञ्चालनमा रहेका छन्।