२०८१ पुष ८
बुटवल २४ मंसिर ।
रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकाका किशोरीहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटगर्दै समुदायका समस्या सुनाएका छन् । सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा भेट गर्दै किशोरीहले गाउँ समाजमा आफुहरुले भोगिरहेका समस्या मुख्यमन्त्री आचार्यलाई सुनाएका हुन । उनिहरुले उज्ज्वल भविस्य र बलियो अभियान सञ्चालनको लागि १७ बुदे माग पत्र पनि मुख्यमन्त्री आचार्यलाई पेश गरेका छन् ।समुदायमा अझैं पनि जातीय छुवाछुत, दाईजो प्रथा, बोक्सीको आरोप लगाउने, बहुविवाह गर्ने जस्ता समाजिक र सांस्कृति परम्पराको नाममा हुने हिंसा अन्त्यकालागि प्रदेश सरकारले भूमिका बढाउनुपर्ने किशोरीहरुले माग राखेका छन् । पुथाउत्तरगंगका बालबालिका र विशेष गरी युवाहरुमा लागू औषधको प्रयोग र मदिरा सेवन बढिरहेको भन्दै यसले घरेलु हिंसा, यौन दुव्र्यवहार र छोट्टी बस्ने जस्ता समाजीक अपराधहरु पनि बढाउने भएकाले समस्या समाधानकालागि बृहत जनचेतनामुलक अभियान चलाउन माग राखिएको छ ।
स्वास्थ्य चौकीको स्थापना र सहज उपचारसेवा देखि खेलक्षेत्रको विकासका लागि खेलकुद मैदान, खेलसामाग्रीको व्यवस्था गर्न माग राखेका छन् । घर र विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्था गर्नुपर्ने, बालबालिका र जेष्ठ नागरिकहरुलाई समाजीक सुरक्षा भत्ताको व्यवस्थाभएता पनि त्यो भत्ता समयमा आइनपुग्ने, महिला, बालबालिका, एकल महिला, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, यौनीक तथा लैङ्गिक अल्पसख्यक र अतिविपन्नलाई सहज तरिकाले मासिक भत्तालिने व्यवस्था मिलाउनुपर्ने माग राखिएको छ । मुख्यमन्त्रीलाई समस्या सुनाउन किशोरी सञ्जालमा आवद्ध स्मृती सेन, प्रतिमा पुन, आरती घर्ती, समृद्धी बुढा, सुप्रिया घर्ती लगायत आएका थिए ।
मुख्मन्त्री आचार्यले किशोरीहरुले राखेका समस्यालाई प्रदेश सरकारले सम्वोधन गर्ने प्रतिबद्धता जनाए । किशोरीहरुले थालेको अभियानमा प्रदेश सरकारले साथ दिने बताउदै उनले किशोर किशोरीहरुको स्वास्थ्य, शिक्षा लगायत मनोसामाजिक क्षेत्रमा सहयोग पु¥याउनेगरी कार्यक्रम बनाएको पनि बताए । समुदाय केन्द्रित जनजागरण अभियानहरुलाई तिब्रता दिन, त्यस अभियानहरुमा किशोरकिशोरीको सहभागिता सुनिश्चित गरिने पनि बताउदै उनले भने, ‘तपाईहरुले उठाएका मागहरु प्रदेश सरकारले सुन्छ । बालविवाह मुक्त प्रदेश बनाउने अभियानमा यहाँहरुको साथ सहयोग चाहिन्छ, बनेका नीति, नियम तथा कानुनहरुको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ ।’
बालविवाहको समस्या समाधान गर्न जनजागरणको अभियानलाई तिब्र पार्नुपर्ने उनले बताए । नीतिगत रुपमा प्रदेश सरकारले सम्वोधन गरेको र छुटेका बिषयलाई आगामी दिनमा सम्वोधन गरिने भन्दै मुख्यमन्त्री आचार्यले पुथाउत्तरगंगामा विकास र समृद्धि पु¥याउन प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए। ‘त्यस क्षेत्रको विकास नगरेसम्म समग्र लुम्बिनी प्रदेशको विकास हुन सक्दैन भन्ने कुरामा प्रदेश सरकार जानकार छ’उनले भने–‘पुथाउत्तरगंगा देखी मर्चवारसम्मलाई माथि उठाउन सक्यौं भने प्रदेशको समग्र विकास भएको मानिने छ । यस दिशामा सरकार अघि बढेको छ ।’ भूगोलबाट पछाडी परेको, जनचेतनाको अभावले पनि पछाडी परेका क्षेत्रको पहिचान गरेर प्रदेश सरकारले काम गर्ने उनको भनाइ छ।