२०८१ पुष ७

अवैध कारोबार नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन
  • लुम्बिनी खोज
  • २०८१ पुष २, मंगलवार ०७:३६ गते

बुटवल २ पुस ।
गृहमन्त्री रमेश लेखकले सीमाक्षेत्रबाट हुने अवैध कारोबार नियन्त्रण गर्न सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् । लुम्बिनी प्रदेशमा राजस्व चुहावट, तस्करी र सीमापार अपराधको समस्या र चुनौती रहेको भन्दै नियन्त्रण गर्न निर्देशन दिएका हुन् ।
लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीकोे आज भैरहवामा उद्घाटन गर्दै गृहमन्त्री लेखकले लुम्बिनी प्रदेश खुला सीमाक्षेत्रमा जोडिएका जिल्लाहरू रहेकाले सीमाक्षेत्रबाट हुने अवैध कारोबार नियन्त्रण गर्न सबै निकायका सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका हुन् ।
मुलुकको दिगो विकासका लागि शान्ति सुरक्षा आवश्यक भएको बताउँदै सुरक्षा निकायले विशेष ध्यान दिनुपर्ने उनले बताए । मुलुकमा दिगो शान्ति, विकास र समृद्धि कायम गर्न अनैतिक कार्य, ठगी, लुटपाट, तस्करी, चेलीबेटी बेचबिखन, लागुऔषधजस्ता कानुनविपरीतका कामहरूलाई निस्तेज पार्नुपर्ने बताए । गृहमन्त्री लेखकले अहिलेको गठबन्धन सरकार मुलुकमा दिगो शान्ति र सुशासन कायम गर्न बनेको दाबी गर्दै गठबन्धन २०८४ को चुनावसम्म कायम रहने पनि बताए ।