२०८१ पुष २५
बुटवल २१ पुस ।
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा ‘विद्यार्थीहरूको नेतृत्व र व्यक्तित्व विकासमा विद्यालयको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।
विद्यालयले ४९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस २०८१ को अवसरमा बुटवल उपमहानगरपालिका अन्तर्गत रहेका माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो ।
उक्त वक्तृत्वकला प्रतियोगितामा प्रमुख अतिथि शिक्षा तालिम केन्द्र रूपन्देहीका प्रमुख दिवाकर भण्डारीले वक्तृत्वकला कार्यक्रमले विद्यार्थीको व्यक्तित्व विकासमा सहयोग गर्ने धारणा राख्दै विद्यार्थीहरूले यस्ता कार्यक्रममा भाग लिन र विद्यालयहरुले पनि यस्ता कार्यक्रम आयोजना गर्न सुझाव दिए ।
उक्त कार्यक्रममा बुटवल उपमहानगरपालिका अन्तर्गत ११ वटा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा एभरेस्ट माध्यमिक विद्यालयकी नेहारिका ज्ञवाली प्रथम, कान्ति माध्यमिक विद्यालयकी अनुषा ज्ञवाली द्वितीय र कालिका मानवज्ञान माध्यमिक विद्यालयकी मनिषा पराजुली तृतीय भएका छन् ।
कार्यक्रममा प्रथम हुनेलाई नगद दस हजार, द्वितीय हुनेलाई सात हजार र तृतीय हुनेलाई पाँच हजार नगद, चेक र प्रमाणपत्र वितरण गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको अध्यक्षतामा नवीन विद्यार्थी क्लबका रिजन श्रेष्ठ र समीक्षा जि.सी.को सञ्चालनमा सम्पन्न कार्यक्रममा निर्णायक मण्डलका संयोजक प्राध्यापक डा. हिरण्यलाल ज्ञवालीले वक्तृत्वकलाका नियमहरूको जानकारी गराएका थिए । निर्णायक मण्डलका सदस्य सहप्राध्यापक ऋषिराम भुसालले नतिजाको विश्लेषण गर्दै नतिजा सार्वजनिक गरेका थिए ।
कार्यक्रममा नवीन विद्यार्थी क्लबका अध्यक्ष सुवास पौडेल, अर्घाखाँची देउराली स्टेसनरीका प्रोपराइटर पदमलाल पोख्रेल र उपाध्यक्ष रोशन परियारले आफ्नो धारणा राखेका थिए ।
विद्यालयले ४९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा पुस ५ गते रक्तदान कार्यक्रम गरेको थियो । पुस १२ गते खेल सप्ताह शुभारम्भ गरिएको थियो । पौष २२ गते विद्यालयको ४९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस २०८१ को अवसरमा नवीन दर्पण २०८१ विमोचन र छात्रवास भवनको समुद्घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यतामा हुने प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले बताएका छन् ।