२०८१ पुष २४

उद्योग व्यापार संघले २०८२ पुसमा बुटवलमा मेला गर्ने
  • लुम्बिनी खोज
  • २०८१ पुष २२, सोमबार १०:४२ गते

बुटवल २२ पुस ।
उद्योग व्यापार संघ बुटवलले पाँचौँ औद्योगिक प्रदर्शनी तथा व्यापार मेला एबं पर्यटन महोत्सव २०८२ आगामी २०८२ पुस ५ देखि १८ गतेसम्म गर्ने भएको छ । बुटवलका उद्योगी व्यवसायीका मुख्य ४ संस्थाले हरेक वर्ष आलो पालो मेला सञ्चालन गर्ने बुटवल उप महानगर सँगको सहमति अनुसार २०८२ साल पुसमा मेला गर्न लागेको संघले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
बुटवल मण्डपमा यस अघिका भन्दा फरक र विशिष्ट तरिकाले सम्पन्न गर्ने उद्देश्यका साथ तयारीका काम शुरू भएको र २५० स्टल बुक भइसकेको उद्योग व्यापार संघ बुटवलका अध्यक्ष विष्णुप्रसाद पाण्डेले बताए । उनले मेला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकामा गत मंसिर ७ गते निवेदन दर्ता र मेलाको मिति तय भईसकेपछि २०८२ साल पुस ५ देखि १८ गते सम्म मेला सञ्चालन गर्ने जानकारी पत्र पनि उपमहानगरलाई गराइसकेको अध्यक्ष पाण्डेले बताए ।
संघका निवर्तमान अध्यक्ष गोविन्द राज गैरेले बुटवलका ४ वटा संस्थाले आलोपालो मेला सञ्चालन गर्ने नियम अनुसार २०७८ सालमा संघले चौथो मेला सफलतापूर्वक सम्पन्न गरेको र आगामी २०८२ मा पाचौ मेला गर्न लागेको बताए ।
संघका संस्थापक अध्यक्ष खिम नारायण पराजुलीले २०८२को मेला यस अघिको भन्दा फरक र उत्कृष्ट बनाउन एक वर्ष अघि बाटै तयारी थालेको बताए । स्वाधीन अर्थतन्त्र निर्माणका लागि औद्योगीकरण तथा व्यापार विविधीकरणको मूल नारा सहित संघले मेलामा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने पराजुलीले बताए ।
संघका वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी,उद्योग उपाध्यक्ष पदम जिसी,महासचिव यमलाल मरासिनी लगायतले बुटवलमा मेला तथा प्रदर्शनी गर्दै आएका अन्य तीन संस्था, सरोकारवाला सरकारी र गैर सरकारी निकायसँग सहकार्य गरेर मेलालाई हाल सम्मकै उत्कृष्ट बनाउने गरी तयारी थालेको बताए।