२०८२ बैशाख २७
दाङ ८ माघ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राजपुर गाउँपालिका–५, गंगदीस्थित साधारण नमुना माध्यमिक विद्यालयको नव निर्मित शैक्षिक भवनको उद्घाटन गरेका छन् । यो भवन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अनुदान सहयोगमा निर्माण गरिएको थियो ।
मुख्यमन्त्री आचार्यले विद्यालयले विकट क्षेत्रमा शिक्षाको उज्यालो छर्न पुर्याएको योगदानको प्रशंसा गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र नतिजा खस्किएकोले सुधारका लागि सघन योजना निर्माण गरी कार्यान्वयन गर्न जोड दिए । उनले लुम्बिनी प्रदेश सरकार शैक्षिक गुणस्तर बढाउन र नतिजा सुधार गर्न प्रतिबद्ध रहेको बताए । भवन मात्र भएर हुँदैन, गुणस्तरीय र व्यावसायिक शिक्षा बढाउन आवश्यकता छ । अभिभावक र शिक्षकबीच समन्वय गरेर शिक्षाको गुणस्तर बढाउन सकिन्छउनले भने,प्रदेश सरकारले शैक्षिक क्षेत्र सुधार्न ध्यान दिएको छ ।
मुख्यमन्त्री आचार्यले राजपुर गाउँपालिकाको गत वर्षको एसईई नतिजा निराशाजनक रहेको भन्दै यस वर्षको नतिजा सुधारका लागि पठनपाठनलाई चुस्त बनाउन आग्रह गरे ।सिङ्गो पालिकाबाट एसईईमा केवल एक जना मात्र पास हुनु दुखद कुरा हो । यसलाई सुधार्नका लागि समस्याको जड पत्ता लगाएर उपचार गर्नु जरुरी छउनले भने,शिक्षाको गुणस्तर सुधार्न अभिभावकले कडा निगरानी राख्नुपर्छ । सबै तह र तप्काबाट ध्यान दिएर शैक्षिक गुणस्तर बढाउन सकिन्छ ।
संघीयताका कारण विकास निर्माणले गति लिएको उल्लेख गर्दै, विकट बस्तीमा सेवासुविधा पुर्याउन प्रदेश सरकारले विशेष ध्यान दिएको बताए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षता सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व सांसद रेवतीरमण शर्माले विद्यालयबीच शैक्षिक गुणस्तरमा प्रतिस्पर्धा हुन आवश्यक रहेको र यसका लागि सबै निकायबीच समन्वय र सहकार्य बढाउनुपर्ने धारणा राखे ।