२०८१ माघ १८
बुटवल १७ माघ ।
अमेरिकन एअरलाइन्सको विमान दुई टुक्रा भएर पोटोम्याक नदीमा खसेको छ
संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डीसीस्थित विमानस्थलमा अवतरण गर्न लागेको एउटा यात्रुवाहक विमान हावामा अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरसँग ठोकिएर पोटोम्याक नदीमा खसेको हो।
बीबीसीका अनुसार दुर्घटनाबारे जारी अनुसन्धानबारे जानकारी राख्ने एक अधिकारीले विमान खसेको स्थानबाट कम्तीमा १९ वटा शव निकालिएको छ । यद्यपि सरकारी निकायले हताहत भएका व्यक्तिहरूको सङ्ख्याबारे आधिकारिक जानकारी दिन बाँकी नै छ।
गोताखोर र उद्धारकर्मीहरू सवार डुङ्गाहरूले न्यूनतम बिन्दुमा पुगेको तापक्रमका माझ नदीमा खोजी तथा उद्धारकार्य गरिरहेका छन्। अधिकारीहरूले अँध्यारो र चिसोका कारण उद्धारकार्य प्रभावित भएको बताएका छन्।
क्यान्सस राज्यबाट उडेको उक्त जेट विमान अमेरिको राजधानीको मध्यभागमा अवस्थित रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा थियो। विमानमा चालकदलका सदस्यसहित ६४ जना सवार थिए भने हेलिकप्टरमा तीनजना सैनिक रहेको बताइएको छ। सेनाको हेलिकप्टर प्रशिक्षण उडानमा रहेको बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले परिस्थितिको निगरानी गरिरहेको बताउँदै आपत्कालीन उद्धारकर्मीहरूलाई उनीहरूको कामका लागि धन्यवाद दिएका छन्। तर उनले दुर्घटना टार्न सकिने खालको थियो भन्दै कसरी त्यसो हुन गयो भनेर प्रश्न गरेका छन्।
उड्डयनविज्ञहरूले रेगन विमानस्थल देशको सबैभन्दा व्यस्तमध्येमा पर्ने र त्यहाँ राजधानीमाथिको हवाईमार्गमा प्रायः विमानहरूको चाप रहने गरेको बताएका छन्।
अमेरिकी अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन्।
अमेरिकी सञ्चारमाध्यमका अनुसार दुर्घटनाग्रस्त विमान दुई टुक्रा भएको छ भने डुङ्गा र गोताखोरहरूले विमान र हेलिकप्टरमा सवार मानिसहरूको खोजी गरिरहेका छन्।
दुर्घटनाग्रस्त हेलिकप्टर पानीमा उत्तानो परेर खसेको सञ्चारमाध्यमहरूले जनाएका छन्।
बीबीसी डट कम नेपालीबाट