२०८१ श्रावण १२

रानीगञ्जमा जसपाको चुनावी अन्तरक्रिया
  • लुम्बिनी खोज
  • २०७९ बैशाख २, शुक्रबार ०९:२५ गते

बुटवल ।
जनता समाजवादी पार्टी, नेपाल बुटवल उपमहानगर समितिले बुटवल वडा नं. १७ स्थित रानीगञ्जमा स्थानीयबासीहरुसँग अन्तरक्रिया सम्पन्न गरेको छ ।
नयाँ वर्ष २०७९ को अवसरमा जसपाले स्थानीयबासिन्दाहरुसँग शुभकामना आदानप्रदान गर्दै स्थानीय समस्या, आवश्यकता र प्राथमिकताबारे बृहत् अन्तरक्रिया गरेको हो । सो कार्यक्रममा बोल्दै जसपा नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज कमल खनालले जसपा नेपालले स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानीका साथै भूमिहीन सुकुम्बासीहरुका लागि उचित र गुणस्तरीय आवासको प्रबन्धमा जोड दिने बताए ।

त्यसैगरी पार्टीका केन्द्रीय सदस्य एवं आर्थिक विश्लेषक मनिकर कार्कीले पुराना पार्टीहरुले सुकुम्बासी एवं भूमिहीनहरुमाथि भोट र नोटको राजनीति गरेकाले अब त्यसको दिगो समाधान निकाल्नुपर्नेमा जोड दिए । उनले जनताको आधारभूत आवश्यकता पूरा गर्ने प्राथमिक दायित्वबाट सरकार पछि हटेको र जनप्रतिनिधिहरु सस्तो लोकप्रियता कमाउने काममै मस्त भएको बताउँदै अब अनुत्पादक क्षेत्रमा गरिने खर्च कटौति गरी उत्पादनमूलक र रोजगार सिर्जना गर्ने क्षेत्रमा लगानी बढाउनुपर्ने बताए । कार्यक्रममा बोल्दै जसपाका उपमहानगर कमिटीका अध्यक्ष बामदेव भुसालले जनता समाजवादी पार्टी स्थानीय बासिन्दाले भोगिरहेका आधारभूत समस्याहरुबाट परिचित भएकोले शिक्षा, स्वास्थ्य, रोजगारीका समस्यालाई समाधान गर्दै समुन्नत उपमहानगर बनाउन क्रियाशील हुने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै विजय ढकाल, तेजु राना, हरि घर्ती मगर, पुष्पा विक, शेर बहादुर कुमाल, राधा अधिकारीलगायतले त्यहाँका समस्याबारे अवगत गराउँदै
पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, खानेपानी र बसोबासको उचित प्रबन्ध त्यहाँको प्राथमिकता हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा जसपा बुटवल उपमहानगर कमिटीले वडा नं. १७ का उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ । पार्टीका तर्फबाट वडा अध्यक्षमा विजय ढकालको नेतृत्वमा सबै वडा सदस्यका लागि उम्मेदवार तय गरेको छ । वडा सदस्य पदको उम्मेदवारमा पुष्पा विक, तारापति बस्याल, शेर बहादुर कुमाललाई चयन गरेको छ ।