२०८२ बैशाख ५
अर्घाखाँचीको ऐतिहासिक स्थल पाणिनि तपोभूमिमा यही चैत २७ र २८ गते पाणिनि तपोभूमि सम्मेलनको तयारी गरिएको छ । ऐतिहासिक स्थलमा गर्न लागिएको यस सम्मेलनले जिल्लाको पर्यटन विकासमा राम्रो प्रभाव पार्ने विश्वासका साथ तयारीका कामहरू तीव्र पारिएको छ । पाणिनि तपोभूमि व्याकरणको खानी भएकाले लेखक तथा पत्रकारहरूको प्रमुख तीर्थस्थलका रूपमा रहे पनि प्रचारप्रसारकाे अभावले ओझेलमा पर्दै आएको अवस्थामा सम्मेलनको तयारी गरिएको छ ।
पत्रकार, लेखक, इतिहासकारलगायत शब्दका व्यापारीहरूका लागि पाणिनि क्षेत्र प्रमुख तीर्थस्थल हुँदाहुँदै पनि यसको महत्त्व उजागार नभएको अवस्थामा यसको महत्त्वलाई उजागार गर्ने गरी सम्मेलनको तयारीमा स्थानीयदेखि प्रदेश सरकारको चासो बढेको छ ।
पाणिनि ऋषिले व्याकरण तथा भाषाको अन्वेषण गरेको विभिन्न तथ्य, तथ्यांक र इतिहासबाट पुष्टि भइसकेको छ । भाषा बिग्रियो भनेर काठमाडाैंमा चिन्ता गर्नेहरूले भाषाको उदगम थलो पाणिनि तपोभूमिबारे थाहा पाउने गरी सम्मेलन भव्य रूपमा सम्पन्न गर्नुपर्ने आवश्यकता छ । भाषाशास्त्रीहरूलाई भाषाको महत्त्व पाणिनी क्षेत्रबाट नै बुझाउन सकिएमा यसको महत्त्वसँगै जिल्लाको पर्यटन विकासमा ठुलो टेवा पुग्ने देखिन्छ ।
यस्तो छ पाणिनि तपोभूमिको महत्त्व
भगवान् शिवले स्वर दिएको र पाणिनि ऋषिले स्वरमा शब्द भरेको विद्वानहरूले बताउने गरेका छन् । तिनै पाणिनि ऋषिले यस ठाउँमा तपस्या गरेकाले यसको महत्त्व बढी रहेको हो ।
ऋषिहरूलाई आकर्षित गरेका स्थान नै वास्तविक स्वर्ग हुने गरेकाले यो स्वर्गभूमिको महत्त्व उजागार गर्न सम्मेलन फलदायी हुने विश्वास गर्न सकिन्छ । पाणिनि ऋषिले भाषाको अनुसन्धान गरेको ठाउँ तथा भगवान् शिवले जुन ध्वनिको रचना गरे, त्यसमा शब्द भर्ने कार्य पाणिनि ऋषिले यही ऐतिहासिक स्थानमा बसी गरेकाले पाणिनिको महत्त्व बढी रहेको छ ।
भारतको तक्षशिक्षा विश्वविद्यालयमा अध्ययन गरेका पाणिनि ऋषि थप अध्ययन र अनुसन्धानको क्रममा नेपालको कृष्णगण्डकी (कालीगण्डकी) को तीर हुँँदै शान्त र मनोरम सो स्थानमा आई तपस्या गरेको र लामो तपस्याबाट सिद्ध भएपश्चात् १४ सूत्रीय (अष्टाध्यायी) व्याकरणको बरदान प्राप्त गरेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ । हजारौँ वर्ष पुरानो इतिहास बोकेको पाणिनि तपोभूमिमा प्राचीन कालमा तक्षशिला विश्वविद्यालयका प्राध्यापक भाषा वैज्ञानिक महर्षि पाणिनि भगवान् शिवको तपस्याका लागि उत्तरापथतिर आएको कुरा भारत तथा नेपालका विज्ञहरूले प्रमाणित गरेका छन् । उनले अक्षरको उच्चारण, ध्वनि, त्यस माध्यमबाट व्याकरणका सूत्रहरु धातु, सूत्र, गण, अणादि, वाक्य, लिंगानुशासन, आगम, प्रत्यय, आदेश आदि आठ अध्यायको माध्यमबाट भाषाविज्ञानको महान् वैज्ञानिक ग्रन्थ संस्कृत व्याकरण कौमुदी शिवबाट प्राप्त गरेको पाणिनिको भाषाविज्ञानका भाष्यकारहरू भट्टोजी दीक्षित, कात्यायन आदिले पाणिनिको व्याकरणको व्याख्या गरे । पाणिनिका छात्रहरूलाई पाणिनीया भनिन्छ । पाणिनीयाहरू बस्ने ठाउँलाई कालान्तारमा पणेना भनिएको हुन सक्ने अनुमान विज्ञहरूले गरेका छन् ।
पाणिनि तपोभूमि लामो र महत्त्वपूर्ण इतिहास बोकेको ऐतिहासिक क्षेत्र
शान्त र मनोरम स्थान यस पाणिनि तपोभूमिमा आई महर्षि पाणिनिले भगवान् शिवको तपस्या गरेका कारण यस स्थानको महत्त्व बढी रहेको बुढापाकाहरूको भनाइ छ । पाणिनि तपोभूमि लामो र महत्त्वपूर्ण इतिहास बोकेको ऐतिहासिक क्षेत्र भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको अवस्थामा यस सम्मेलन आयोजना गरिएको हाे । पाल्पा सदरमुकाम तानसेनबाट करिब ३३ किलोमिटर पश्चिममा रहेको यस स्थानमा अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट पनि करिब ३३ किलोमिटरको दूरीमा पुग्न सकिन्छ । यस स्थान रुपन्देहीको सालझन्डीबाट करिब २६ किलोमिटर उत्तरमा पर्दछ । रुपन्देहीबाट नजिकको दूरीमा रहेको यस स्थानको शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीसहित लुम्बिनीका अन्य पर्यटकीय स्थलहरूसँगै विकास र संरक्षण तथा प्रचार गर्न सकिएमा लुम्बिनीको पर्यटन विकासमा महत्त्वपूर्ण टेवा पुग्ने देखिन्छ ।
आन्तरिक तथा बाह्य र धार्मिक पर्यटनको राम्रो सम्भावना बाेकेकाे पाणिनि तपोभूमि समुद्री सतहबाट सात हजार पाँच सय फिट उचाइमा छ । यस स्थानबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमश्रृंखला देख्न सकिन्छ । त्यस्तै, तराईको समथर भूभागका अतिरिक्त भारतका विभिन्न स्थानसमेत यहाँबाट देख्न सकिन्छ । समुद्री सतहबाट यति धेरै अग्लो स्थानमा अवस्थित भए पनि पहाडको टुप्पोमा करिब पाँच सय रोपनी समथर भूभाग रहेको छ । उक्त मैदानको बिचमा ठुलो पुष्करिणी दह रहेको छ । यो स्थान ऐतिहासिक, पुरातात्त्विक तथा प्राकृतिक रूपले महत्त्वपूर्ण छ ।
यस्तो सुन्दर मनमोहक स्थल ओझेलमा परेको तथ्यलाई स्थानीय तथा प्रदेश सरकारले कत्तिको हेक्का राखेका छन् आगामी दिनमा देखिने नै छ । जे होस्, यसपटक गर्न लागिएको सम्मेलनले केही न केही पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने नै छ । अर्घाखाँची पाणिनि तपोभूमिले मात्रै प्रसिद्ध छैन । यहाँ पर्यटनसँग सम्बन्धित अन्य महत्त्वपूर्ण स्थलहरू पनि रहेका छन् । यी स्थलहरूलाई जोडेर विकास गर्न सकिए जिल्लाका साथै लुम्बिनी प्रदेश र मुलुककै पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुग्ने देखिन्छ ।
ऐतिहासिक महत्त्वका स्थल
पहाडी जिल्लाहरूमध्ये ऐतिहासिक हिसाबले निकै महत्त्वपूर्ण मानिन्छ अर्घाखाँची । पाणिनि तपोभूमि, मथुराबेँसी, बल्कोटको रामेश्वर पौवा, अर्घाको भगवती मन्दिर, ठाडा दह, पाणिनी गाउँपालिकामा रहेको दुर्वासेश्वर गुफालगायतका महत्त्वपूर्ण स्थलहरूले अर्घाखाँचीको पहिचाहनमा योगदान पुर्याएका छन् । यहाँका धार्मिक तथा ऐतिहासिक महत्त्वका स्थलहरूले पर्यटक आकर्षण गर्न सफल हुँदै गएपछि पर्यटकको रोजाइमा पर्न थालेका छन् ।
कपिलवस्तुको गोरुसिंगेबाट सन्धिखर्क जाने बाटोमा पर्ने सुपादेउराली आन्तरिक पर्यटकका लागि सबैभन्दा बढी रोजाइमा पर्ने गरेको छ । यहाँ दैनिक हजाराैँ पर्यटकहरू आउने गर्दछन् । सुपादेउरालीमा भारतीय पर्यटकको पनि आकर्षण बढ्न थालेको छ । जिल्लाको सदरमुकाम सन्धिखर्क–गोरुसिंगे सडकखण्डमा पर्ने यस सुपादेउराली मन्दिर लुम्बिनी प्रदेशकै महत्त्वपूर्ण मानिन्छ । यहाँ भाकल गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहँदै आएको छ । यस मन्दिरमा दैनिक भिडभाड हुने गर्दछ । दैनिक भक्तजनको भिड लाग्ने हुँदा दानदक्षिणा पनि राम्रै संकलन हुने गरेको छ । जसको आम्दानीबाट स्थानीय स्कुलका शिक्षकलाई पारिश्रमिकसमेत दिने गरिएको स्थानीय बताउँछन् ।
सुपापछिका महत्त्वपूर्ण स्थलहरूमा मठमन्दिरदेखि गुफाहरूसम्म पर्दछन् । सुपादेउरालीबाट अगाडि सदरमुकाम सन्धिखर्कतर्फ जाँदा केही माथि नरपानीमा पुगिन्छ । नरपानी अर्घाखाँचीको निकै महत्त्वपूर्ण स्थल मानिन्छ । अझ गर्मी मौसममा त याे स्थान निकै आनन्ददायक रहेको छ । नर्तनाचल पर्वत रावण राजाको तपोभूमिस्थल नरपानीमा पर्यटक आकर्षण गर्न विभिन्न खालका संरचना बनाउन थालिएको छ । सुपादेउरालीमा दर्शन गर्न आएका दर्शनार्थीका लागि विश्राम स्थलका रूपमा नरपानीलाई विकास गर्न स्थानीय लागिपरेका छन् ।
हरियाली डाँडापाखा र चिसो हावापानी यहाँको विशेषता हो । गर्मी समयमा तराईका विभिन्न ठाउँबाट गर्मी छल्न मानिसहरू यहाँ आउने गर्दछन् । बुटवलबाट यहाँ गाडीमा तीन घण्टामा आइपुगिन्छ ।
दुर्वासेश्वर गुफा
अर्घाखाँचीको पूर्वी क्षेत्रमै रहेको दुर्वासेश्वर गुफा पर्यटकीय हिसाबले अर्को महत्त्वपूर्ण मानिन्छ । दुर्गाफाँटको किनारमा रहेको यस गुफालाई साततले गुफा पनि भनिन्छ । सातवटा तला भएकाले यस गुफाको नाम साततले रहेको हाे । १९९० सालको भूकम्पमा धक्का पुगेका कारण त्यसयता माथिका तलाहरूमा जान सकिने अवस्था नरहेको बुढापाकाहरूको भनाइ छ । यस गुफाको महत्त्व विभिन्न पुराणहरूमा समेत उल्लेख भएको छ । यस गुफामा रहेको ज्योतिर्लिंग र मुक्तिनाथमा रहेको ज्योतिर्लिंग एकै प्रकारका रहेको जानकारहरू बताउँछन् । स्कन्द पुराण र पद्म पुराणमा यस गुफाबारे उल्लेख भएको पाइन्छ । यस गुफालाई पृथ्वीकै श्रेष्ठ गुफाका रूपमा पनि व्याख्या गरिएकाे छ ।
४८ वर्ष तपस्या गरेका दुर्वासा ऋषिले यस गुफामा तपस्या गरेकाले यसको महत्त्व झन् बढेकाे हाे । एबिसिडी तथा कखगघ अक्षर यिनै दुर्वासा ऋषिले बनाएको दाबी पनि गरिन्छ । दुर्वासाले अक्षरको सिर्जना गरेको र स्वर पाणिनि ऋषिले दिएका हुन् । घृतराष्ट्रकी भाइबुहारी पाँच पाण्डपकी आमा कुन्तिमातालाई यसै गुफामा दुर्वासा ऋषिले महामन्त्र सुनाएकाले पनि यसको महत्त्व बढी रहेको छ । महामन्त्र सुनाउँदा बाजागाजाको गडगडाहट आवाज धातिवाङको ढुंगढुगे गुफामा पनि पुगेको बताइन्छ । भव्य बाजागाजाका साथ महामन्त्र सुनाउँदा धातिवाङको गुफामा ढुंगढुंग आवाज सुनिएकाले त्यहाँको नाम ढुंगढुंगे गुफा रहेको बताइन्छ । त्यस्तै, धातिवाङको नाम धातुकुटको लेकका नामबाट रहेको हाे ।
नरपानी–कालीकाठी–पाणिनि पदमार्ग
अर्घाखाँचीको पर्यटकीय विकासमा पदमार्गले अझ फड्को मार्ने देखिन्छ । यहाँ सबैभन्दा महत्त्वपूर्ण पदमार्ग नरपानी–कालीकाठी–पाणिनि पर्यटकीय पदमार्ग बन्न सक्छ । यो १५ किलोमिटरको पदमार्गले पर्यटकलाई आनन्द प्रदान गर्ने देखिन्छ ।
जिल्लाको पूर्व-पश्चिम पर्ने गरी अग्लो डाँडैडाँडा १५ किलोमिटर लामो पदमार्ग पर्यटकका लागि आनन्ददायी यात्रा बन्न सक्ने विश्वास लिइएको छ । यही पदमार्गमा पर्ने कालीकाठी स्थानको संरक्षण गरी थप संरचना निर्माण गरेमा थप आकर्षण हुने देखिन्छ । पहिला कालाकाठा भनिने यस स्थानको ऐतिहासिक महत्त्व धेरै रहेको जानाकारहरू बताउँछन् ।
त्रेतायुगमा दशरथ राजाले छोरा जन्माउन पुत्रेष्ठी यज्ञ गरेको स्थल यही हाे । वशिष्ठ ऋषिको सल्लाहअनुसार दशरथले यहाँ यज्ञ गरेका थिए भन्ने छ । यज्ञ सम्पन्न गर्न आफूलाई शृंगेश्वर ऋषिको सहयोग चाहिने वशिष्ठले दशरथसँग बताएपछि दुवै ऋषिहरूलाई निमन्त्रणा गरी दशरथले यज्ञ गरेको स्थल भएकाले यस स्थानको महत्त्व बढी रहेको जानकारहरू बताउँछन् । यस स्थानका आसपासका क्षेत्रहरूको नामकरण रामायणमा उल्लेख भएका विभिन्न स्थानका नामसँग मेल खाने हुनाले पनि पुत्रेष्ठी यज्ञ गरेको स्थल यही नै रहेको दाबी गरिन्छ । यसपटकको पाणिनि तपोभूमि सम्मेलन यी ऐतिहासिक महत्त्वबारे उजागार गर्न सफल भएमा जिल्लाको पर्यटन विकासमा योगदान पुग्नेछ । सम्मेलनसँगै विकासका योजनाहरू बनाएर अगाडि बढाउन सकिए पर्यटक लोभ्याउन सकिन्छ । अनि मात्र जिल्लाको मुहार फेर्न सकिन्छ ।
नयाँ पत्रिकाबाट