२०८२ बैशाख १
बुटवल २८ चैत
बुटवलमा बिहिवारदेखि राष्ट्रिय परिचयपत्र तथा गरिब घरपरिवार परिचयपत्र बितरण सुरु भएको छ ।
बिहीबार बुटवल उपमहानगरपालिका वडा नं ८ को वडा कार्यालयमा एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बितरण कार्य सुभारम्भ गरे ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख पाण्डेयले वडा नं ८ का जेष्ठ नागरिक चुन्नप्रसाद पौडेललाई राष्ट्रिय परिचयपत्र बितरण गरेर कार्यक्रमको सुभारम्भ गरेका हुन् ।
सो अवसरमा नगर प्रमुख पाण्डेयले जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयबाट बितरण हुने राष्ट्रिय परिचयपत्र र गरिब परिचयपत्र जनताको सहजताका लागि स्थानीय तहका वडा कार्यालय मार्फत बितरण गर्न लागिएको भन्दै त्यसमा वडा अध्यक्ष तथा जनप्रतिनिधिहरूले सहजिकरण गर्नुपर्नेमा जोड दिए ।
वडा बाटै राष्ट्रिय परिचयपत्र तथा गरिब घरपरिवार परिचयपत्र बितरण गर्ने ब्यवस्था हुँदा जनतालाई सहज हुने भन्दै नगर प्रमुख पाण्डेयले जनतालाई सहजरूपमा सेवा प्रवाह गर्नु जनप्रतिनिधिको जिम्मेवारी र दायित्व भएको उल्लेख गरे ।
परिचयपत्र बितरण गर्दा टोकन प्रणाली लागु गरी आफ्नो पालोमा बोलाउने र जेष्ठ नागरिक तथा असक्तहरूलाई प्राथमिकता दिन पनि नगर प्रमुख पाण्डेले आग्रह गरे ।
उपप्रमुख सावित्रा देवी अर्यालले जनताको सहजताका लागि स्थानीय तहमार्फत परिचयपत्र बितरण गर्ने ब्यवस्था भएको भन्दै सहज रूपमा परिचयपत्र बितरण गर्ने कार्यमा जनप्रतिनिधिले सहजिकरण गर्नुपर्नेमा जोड दिइन् ।
बुटवल उपमहानगरपालिका वडा नं ८ का कार्यबाहक वडा अध्यक्ष तुलबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा वडा सचिव बिष्णु श्रेष्ठले परिचयपत्र बितरणको तयारी र प्रक्रिया बारे अवगत गराएका थिए ।
त्यस्तै बुटवलको वडा नं ३ र ४ मा पनि बिहिवारदेखि परिचयपत्र बितरण कार्य सुरु भएको छ ।
तीनवटै वडामा प्रमुख पाण्डेय, उपप्रमुख अर्यालले सम्बन्धित वडाका जेष्ठ नागरिकहरूलाई परिचयपत्र प्रदान गरी कार्यक्रमको सुभारम्भ गरेका थिए ।
पहिलो चरणमा बुटवलको वडा नं २,३,४,५,७,८ र ९ सम्मका ४६ हजार ९८० जनालाई राष्ट्रिय परिचयपत्र तथा १ हजार २६२ गरिब घरपरिवार परिचयपत्र बितरण गर्ने तयारी भएको बुटवल उपमहानगरपालिका पञ्जिकरण शाखाकी अधिकृत संगिता अर्यालले जानकारी दिइन् ।