२०८२ बैशाख १

बुटवलमा एमालेको प्रदेश स्तरीय सभा, भ्रमहरु चिर्दै अगाडी बढ्नुपर्नेमा जोड
  • लुम्बिनी खोज
  • २०८१ चैत्र २९, शुक्रबार १३:२८ गते

बुटवल २९ चैत ।
नेकपा एमालेले बुटवलमा शुक्रवार बुटवलमा प्रदेश स्तरीय जागरणसभा गरेको छ । देशभरका विभिन्न स्थानमा गर्ने जागरण सभा अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय सभा बुटवलमा गरेको हो । बुटवलको
सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेका उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललगायतका नेताहरु ले सम्वोधन गरेका छन् ।
सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलिले पार्टी र नेतृत्व विरुद्ध चलाइएको भ्रमहरु चिर्नु आवश्यक रहेको बताए । मुलुकमा अफवाहा फैलाउने , नक्कली भिडियो बनाउने, नक्कली आवाजहरु राखिने कामहरु भएको भन्दै भ्रम तोड्नुपर्नेमा उनले जोड दिए ।
उनले अब मुलुक पछाडी फर्कन नसक्ने भन्दै अन्धकारमा धकेल्ने कुचेष्टा नगर्न पनि चेतावनी दिए । उनले अस्थीरताका कारण विकासले गति लिन नसकेको अवस्थामा स्थीरताका लागि ठूला पार्टी सत्तामा गएको भन्दै एमाले सत्तामा गएसगै मुलुकमा विकासले गति लिएको दावी पनि गरे ।


कार्यक्रममा एमालेका उपाध्यक्ष उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले एमाले र एमाले नेतृत्वका विरुद्धमा भ्रम छर्ने र प्रहार गर्ने काम भइरहेको भन्दै ती भ्रमहरु चिर्दै अगाडी बढ्नुपर्ने बताए । देश बनाउने विचार एमालेसग रहेको र एमालेले देश बनाउने भन्दै उनले सबै भ्रमहरु चिर्दै अगाडी बढ्नुपर्ने आवश्यकता औल्याए । विकास निर्माणको कामलाई गति दिदै अर्थतन्त्र चलायमान बनाउदै सरकार अगाडी बढिरहेको दावी गर्दै उनले प्रतिगामी तत्वहरुले जनताका समस्या समाधान गर्न नसक्ने बताए । राजावादी तथा प्रतिगामी तत्वहरुको कुनै भविष्य नरहेको भन्दै उपप्रधानमन्त्री पौडेलले आततायि आतंककारी प्रवृतिलाई परास्त गर्ने अभिभारा रहेको पनि बताए । जनताका गुनासा , अपेक्षा सुन्न र समाधान गर्दै मुलुकलाई ठीक बाटोमा अगाडी बढाउन परिवर्तनकारी दलहरुबाट संभव रहेको धारणा पनि उनले राखे ।
कार्यक्रममा एमाले नेतृ पद्मा अर्यालले सरकार सुशासनको बाटोमा अगाडी बढेको अवस्थामा भ्रम छर्ने काम भएकाले भ्रम चिर्न सभा गरेको बताइन् ।