२०८१ श्रावण १२

तिलोत्तमामा बालमैत्री स्थानीय शासनले ल्याएको परिवर्तन
  • लुम्बिनी खोज
  • २०७९ बैशाख २, शुक्रबार १०:२६ गते

विष्णु घिमिरे
बुटवल ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गत मंसिरमा एउटा विवाह गर्नका लागि टिकाटालो र मगनी सम्पन्न भइसकेको थियो । टिकाटालो पछि विवाहको तयारीमा जुट्ने काम भयो । तर तयारीमा जुटेको धेरै समय बित्न नपाउदै परिस्थितिले अर्कै रूप लियो । विवाह हँुदै गरेका जोडी पन्ध्र वर्ष पनि उमेर नपुगेका थिए । नेपालमा विवाह २० वर्ष पछि भन्ने गरिन्छ र बालविवाहलाई कानूनले निषेध गरेको छ । कानूनले निषेध गरेपनि पन्ध्र वर्ष पनि उमेर नपुग्दै बालबालिकाको विवाह बन्धनका लागि टिकाटालो र मगनी भएको थियो । विवाहको टुंगो लगाएपछि बालबालिकाका अभिभावक विवाहको तयारीमा जुटेका थिए । तर बालबालिकाको बिवाहको तयारीको खबर एक कान दुई कान हुँदै वडा हँुदै नगरपालिका भरी नै फैलियो । तिलोत्तमा नगरपालिका यसै वर्ष बालमैत्री नगरपालिका घोषणा भएको थियो । बालमैत्री घोषण गर्दा नगरपालिकामा बालविवाह रोक्ने कुरा प्राथमिकतामा थियो । बालविवाहमुक्त नगरपालिका बनाउने अभियानमा १५ वर्ष मुनिका बालबालिकाको टिकाटालो र मगनीले गम्भीर प्रश्न खडा गर्यो ।
बालमैत्री नगरपालिका घाषणा गर्नुपूर्व नगरपालिकामा थुप्रै बाल सञ्जालदेखि यससँग सम्बन्धित धेरै सञ्जालहरू बनेका थिए । यी सञ्जालहरूका पदाधिकारी सामु बालबिवाह अगाडि बढेको तथ्य खबर आएपछि टोल हँुदै नगरपालिका सम्मका सञ्जालले यसलाई गम्भीरतापूर्वक लिए । नगर बालमैत्री सम्पर्क व्यक्ति शारदा भट्टराईका अनुसार १५ वर्ष समेत उमेर नपुगेका यी बालबालिकालाई परामर्श गर्नेदेखि अभिभावहरूसँग छलफलमा जुट्ने सम्मका काम भए ।
सबैको अग्रसरता र चौतर्फी दबाबपछि गत मंसिरमा यो बालविवाह रोक्ने काम भयो । यी बालबालिकाहरूको उमेर पुगेपछि विवाह गरिदिने सहमतिसँगै यो बालविवाह रोकियो । यो बालविवाह रोकिएको केही दिन बित्न नपाउँदै यसै नगरपालिकामा फेरी यस्तै किसिमका बालविवाह तयारीका तथ्यहरू बाहिरिन थाले । वडा नम्वर १२ मा मंसिर २७ यता ३ वटा बालबिबाह तयारीका तथ्यहरू बाल सञ्जाल हँुदै नगर बाल सञ्जाल सम्म पुग्यो ।
१६ देखि १८ वर्षसम्मका बालबालिकाको विवाहको तयारीका जानकारी आएको तिलोत्तमा नगरपालिका बालमैत्री स्थानीय शासन कार्यक्रमका वडा सम्पर्क व्यक्ति जीवन तिमिल्सिना बताउँछन् । विद्यालयमा कक्षा ९ तथा १० मा पढ्ने विद्यार्थीहरूले प्रेम गरेका रहेछन् । त्यहीँ प्रेमलाई विवाहमा परिणत गर्ने तयारी गरेको अवस्थामा थाहा पाएपछि रोक्ने काम गरेको उनले बताए । ‘उमेर नपुग्दै विवाह गर्नु हुँदैन, उमेर पुगेपछि विवाह गर्नु भनेर अभिभावक तथा किशोर किशोरीलाई सम्झाएर विवाह रोक्ने काम गरियो ।’ उनले भने–‘कतै त प्रहरीको पनि सहयोग लिनुपर्ने अवस्था आयो ।’ कानूनले बाल विवाह अस्वीकार गरेपनि समाजमा लुकिछिपी काम हुँदै आएका छन् । बालमैत्री नगरपालिका घाषणा गर्नुपूर्व नगरपालिकाले घर– घर, टोल– टोल तथा विद्यालयदेखि सबै क्षेत्रमा बालमैत्री अभियान सञ्चालन गरेको थियो । सो अभियान अन्र्तगत् पर्चा पम्प्लेट, माइकिङ, भेला, गोष्ठी विभिन्न कार्यक्रमले समाजमा जागरूपता ल्यायो । जसको फलस्वरूप आज टोल–टोलबाट बालविवाह विरूद्ध सशक्त आवाज उठेको नगर बालमैत्री सम्पर्क व्यक्ति भट्टराई बताउँछिन् । अहिले तिलोत्तमामा बालविवाह गर्न असंभव जस्तै बनाइदिएका छन् यहाँ क्रियाशील बाल सञ्जाल तथा समूहहरूले । जागरूपता पनि बढेका कारण सकारात्मक प्रभाव पर्दै गएको अनुभव तिलोत्तमाबासीले संगाल्न थालेका छन् ।
तिलोत्तमामा बालविवाह मात्रै हैन बालबालिकासँग सम्बन्धित अन्य सरोकारका विषयमा धेरै परिवर्तन आएको छ । होटल, ईट्टाभट्टादेखि श्रम क्षेत्रहरूमा बाल श्रम रोक्नेदेखि विद्यालयहरूमा बालहिंसा रोक्ने सम्मका काममा सकारात्मक प्रभाव परेको छ । तिलोत्तमाले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय पठाऊ अभियानलाई पनि उत्तिकै महत्व दिएको छ, तर यहाँ विद्यालय बाहिर लक्षित समूहका बालबालिका नरहेको दावी नगर बालमैत्री सम्पर्क व्यक्ति भट्टराईको छ । नगरमा शैक्षिक क्षेत्रमा मात्रै होइन व्यापारिक क्षेत्रमा पनि बालमैत्री शासनले प्रभाव पारेको छ । बालबालिकालाई धुम्रपान, मध्यपानसँग सम्बन्धित सामान बिक्री वितरण गर्न रोक लगाइएको छ । बालबालिकालाई अनुशासित बनाउन राम्रा आचरणहरू सिकाउन विभिन्न अभियान चलाइएको छ । ब ा ल ब ा िल क ा ह रू म ा पनि धेरै परिवर्तन आएको सरोकारवालाहरू बताउँछन । त्यसो त बाल सञ्जालमा रहेकाहरू पनि बालमैत्री शासन सुरू भएयता परिवर्तन भएको महुशुस गर्छन् । बालमैत्री स्थानीय शासन सुरू हुन पूर्व नै यहाँ थालिएका अभियानसँगै बालबालिका तथा अभिभावकहरूमा एक किसिमको जागरण पैदा गरेको सञ्जालका पदाधिकारी बताउँछन् ।
हजारौं बालबालिका सक्रिय
बालमैत्री नगरपालिका तिलोत्तमामा बालबालिकाको सक्रियता पनि ह्वात्तै बढेको छ । यहाँ विभिन्न खालका बाल समूह तथा बाल सञ्जालमा हजारौं बालबालिका सहभागी छन् । नगरस्तर देखि वडा सम्मका सञ्जालमा थुप्रै बालबालिका सहभागी छन् । समूहमा सहभागी बालबालिका समूहका गतिविधिसँगै सक्रिय भएका हुन् । नगरपालिकामा १८ वर्ष मुनिका बालबालिकाको संख्या २० हजार ७ सय ३९ रहेको छ । यहाँको कुल जनसंख्यामध्ये यो १६ दशमलव ७५ प्रतिशत हो । नगरपालिकाका अनुसार १८ वर्ष मुनिका बालक १५ हजार ५ सय १३ र बालिका ५ हजार २ सय २६ रहेका छन् ।
यो जनसंख्या मध्ये ५ हजार भन्दा पनि धेरै बालबालिका हाल विभिन्न समिति तथा समूह मार्फत बालमैत्री शासन कार्यान्वयनमा महत्वपूर्ण भूमिकामा रहेका छन् । तिलोत्तमा नगरमा बालमैत्री स्थानीय शासन नगर समिति छ । जसमा बाल बालिकाको सहभागिता छ । त्यस्तै नगरपालिकाका सबै वडामा बालमैत्री स्थानीय शासन वडा समितिहरू छन् ।
यिनमा पनि बालबालिकाको सहभागिता गराइएको छ । नगर बाल अधिकार समिति, वडा बालअधिकार समितिहरूमा पनि बालबालिकाको सहभागिता रहेको छ । विद्यालय व्यवस्थापन समिति तथा विद्यालयको शिक्षक बैठकमा समेत बालबालिकाको सहभागिता तिलोत्तमामा रहेको छ । यहाँका सबै विद्यालय व्यवस्थापन समितिमा एक÷एक जना बालबालिकाको सहभागिता रहँदै आएको छ । त्यस्तै स्वास्थ्य व्यवस्थापन समितिमा पनि बालबालिकाको सहभागिता यहाँ रहेको छ । तिलोत्तमामा २ सय ३१ वटा बाल समूहमा २५३० बालक र २१५३ बालिका सहभागी रहेका छन् । त्यस्तै वडा बाल समूह सञ्जाल र नगर बाल समूह सञ्जालमा ४ सय १९ जना सहभागी छन् । यसरी तिलोत्तमामा २ हजार ६ सय ६१ बालक र २ हजार २ सय ८४ बालिका गरी ५ हजार ३ सय ६४ जना सहभागी छन् । बालबालिका समूह तथा विभिन्न समितिमा रहँदा उनीहरूले धेरै कुरा सिक्न पाउने र उनीहरूको व्यक्तित्व विकासमा समेत सकारात्मक प्रभाव पारेको देखिन्छ ।
कसरी बन्यो तिलोत्तमा बालमैत्री नगरपालिका ?
तिलोत्तमा नगरपालिकालाई मंसिर २९ गतेबालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको हो । बालमैत्री स्थानीय शासन अवलम्बन गरी बालअधिकारको क्षेत्रमा सक्रिय रूपमा काम गरिरहेको यस नगरपालिकालाई पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरे ।
घोषणा कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य घनश्याम भुसाल, प्रदेश सरकारका कानून, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्ती, राष्ट्रिय सभाका सांसद गोपाल भट्टराई, प्रदेशसभा सदस्यहरू, विभिन्न पालिकाका प्रमुखहरू, राजनीतिक दल, विभिन्न सामाजिक संघ–संस्था, टोल विकास संस्था, शिक्षण संस्था, क्लव, आमा समूहलगायत सरोकारवाला निकायका प्रतिनिधिहरू, शिक्षक, विद्यार्थी, अभिभावकहरूको ठूलो सहभागिता रहेको थियो ।
सहभागीहरूले बालमैत्री नगरलाई दिगो बनाउन आ–आफ्नो ठाउँबाट काम गर्ने सामूहिक प्रतिबद्धता जनाएका थिए । ५१ वटा सूचकको अभ्यास गरेर नगरलाई मुलुककैं पहिलो बालमैत्री नगर घोषणा गरिएको हो । तिलोत्तमालेबालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरूमा मुलकमैं पहिलो अभ्यास गरी तीमध्ये ४१ वटा सूचकहरू शतप्रतिशत र १० वटा सूचकहरूमा अधिकतम ९९.८८ प्रतिशतसम्म नतिजा हासिल गरेको हो । नगरपालिकाले नगरस्तरीय स्थिति प्रतिवेदन तयार गरी बालमैत्री स्थानीय शासन घोषणा पश्चात दिगोपनाको लागि पञ्चवर्षीय रणनीतिक योजना समेत तयार गरेको छ ।
२०७६ सालमा पूर्णसरसफाई उन्मुख नगर घोषणा गर्न सफल भएको तिलोत्तमाले कोरोना महामारीको प्रभाव कम भएसँगै नगरलाई बालमैत्री घोषणा गर्न सफल भएको हो । तिलोत्तमालाई बालमैत्रीयुक्त नगरपालिका बनाउन २०७६ मंसिर २७ गतेदेखि बालमैत्री स्थानीय शासन पद्धति अवलम्बन गरिएको थियो ।
तिलोत्तमा नगरपालिकामा जनप्रतिनिधि आएदेखिनैं शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका क्षेत्रमार्फत् बालबालिका केन्द्रित विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आएका थिए । बालमैत्री अभियान सञ्चालन भएयता तिलोत्तमामा २३१ वटा बाल समूह, १८ वटा वडा र नगर बालसमूह सञ्जाल गठन भएका छन् । वडा तथा नगर स्तरीय विभिन्न अभिमुखीकरण, वृहत वडा भेला, कार्यपालिकाको बैठकद्धारा नीति, रणनीति, आचारसंहिता, कार्ययोजना तर्जुमा, बिभिन्न समितिहरूको गठन, सरोकारवालाहरूको प्रतिवद्धता, न्यूनतम सूचकको निर्धारण र कार्यान्वयनका तहगत खुड्किलाहरू पार गरि सिङ्गो नगरलाई बालमैत्री घोषणा गरिएको हो ।
बालमैत्री नगर घोषणाले बालबालिकाको सर्वोत्तम हित, सर्वाङ्गीर्ण विकास, अर्थपूर्ण बालसहभागितालाई नगरको नीति, योजना, संरचना, प्रणाली, कार्यप्रक्रिया र व्यवहारमा संस्थागत गराएको नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले बताइन् । तिलोत्तमाले विगतदेखि नैं आफ्नो नीति तथा कार्यक्रम र बजेटलाई “बाल्यकालमा शिक्षा, स्वास्थ्य र पोषण, युवाअवस्थामा शीप, उद्यमशीलता र रोजगारी, जीवनको उत्तराद्र्धमा जेष्ठ नागरिकलाई सम्मान, संरक्षण, महिलालाई समतामूलक अवसर सिर्जना” गराउँदै आएको बताउँदै नगर उपप्रमुख चौधरीले बालमैत्री घोषणा कार्यक्रम यहीँ नीतिको एउटा कडी भएको बताइन् । ब ा ल ब ा िल क ा क ा े सर्वोत्तम हित, सर्वांगिण विकास र बालसहभागिताको सिद्धान्तमा आधारित भै बालअधिकारको सम्मान, संरक्षण र सम्बद्र्धन गर्न राज्यको तर्फबाट गरिने समष्टिगत पद्धति र प्रयास नैबालमैत्री शासन हो ।
नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउन २०७६ साल मंसिरबाट विशेष तयारी गरिएको थियो । २०७६ मंसिर २७ र २८ गते सरोकारवालासँग अभिमुखीकरण कार्यक्रम गरिएको थियो । विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्ष, पालिका भित्रिका विभिन्न संघ सस्थाका प्रतिनिधि, प्रहरी, जनप्रतिनिधिसहित विभिन्न सरोकारवालाहरूसँग वृहत कार्यक्रम गरेपछि तिलोत्तमा बालमैत्री नगरपालिका बनाउने अभियानमा विशेष रूपमा लागेको थियो । जसको फलस्वरूप २०७८ साल मंसिर २९ गते रूपन्देहीको तिलोत्तमा नगरपालिका जिल्लाको पहिलो बालमैत्री नगरका रूपमा घोषणा भयो ।
जनप्रतिनिधिको भूमिकाले पारेको प्रभाव
बालमैत्री घोषणाको तहसम्म पु¥याउनमा यहाँका जनप्रतिनिधिहरूको सुरूदेखिको भूमिकाले पनि मद्दत गरेको छ । खास गरेर तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले शैक्षिक क्षेत्रमा सुधार ल्याउन उनले शुरूदेखि नै सकारात्मक प्रभाव पारेका छन् । उनले तिलोत्तमाको शैक्षिक स्तर माथि उठाउन गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनेदेखि विद्यालय सुधारमा विभिन्न योजना अगाडि सारेर काम गर्दै आए ।
उनले पाँच वर्षको पारिश्रमिक नलिने घोषणा २०७५ असार २० मा गरे । पारिश्रमिकको रकम गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका उनले वार्षिक रूपमा पारिश्रमिक छात्रवृत्ति वितरणमा खर्च गर्दै आएका छन् । उनको पारिश्रमिक छात्रवृत्ति कोषमा जम्मा हुने र वितरण हुने व्यवस्था यहाँ रहेको छ । सामुदायिक विद्यालयले सिफारिस गरेका विद्यार्थीलाई कार्यविधिका आधारमा लगातार पाँच वर्ष वा विद्यार्थीहरू सो विद्यालयमा अध्ययन गर्दासम्म छात्रवृत्ति प्रदान
गरिँदै आइएको छ । सामुदायिक विद्यालयको शैक्षिक र भौतिक पूर्वाधार सुधारमा लागेको भन्दै तिलोत्तमा नगरपालिकाका प्रमुख घिमिरेले आफ्नो पारिश्रमिक रकम पनि सामुदायिक विद्यालयकैं विद्यार्थीको हीतमा लगाउने घोषणा गरेका थिए ।
प्रभावकारी कार्यान्वयनका लागि यस्ता छन् नीति निर्देशन
बालमैत्री घोषणापछि तिलोत्तमाले यसलाई प्रभावकारी कार्यान्वयनका लागि विभिन्न कार्यविधि, निर्देशिका, नीति, योजना बनाएको छ । बालमैत्री स्थानीय शासन तथा बालअधिकार संरक्षण कार्यविधि– २०७८, तिलोत्तमा नगरपालिकाको प्रारम्भिक बाल शिक्षा केन्द्र तथा शिशु विकास केन्द्र संचालन, व्यवस्थापन निर्देशिका– २०७८, तिलोत्तमा नगरपालिकाको बालउद्धार कोष सञ्चालन कार्यविधि– २०७८, बालमैत्री घोषणा पश्चात दिगोपनका लागि बाल संरक्षण योजना– २०७८, तिलोत्तमा नगरपालिकाको बालबालिका सम्बन्धी नीति– २०७८, तिलोत्तमा नगरपालिकाको स्कूल बस संचालन निर्देशिका–२०७८, तिलोत्तमा नगरपालिकाको बालसमूह, बालसमूह संजालको गठन तथा सहजीकरण निर्देशिका– २०७८ नगरपालिकाले बनाएको छ ।
तिलोत्तमा उत्कृष्ट पथमा
बालमैत्री नगरपालिकाका रूपमा चर्चामा रहेको तिलोत्तमा अन्य क्षेत्रमा पनि चर्चामा रहँदै आएको छ । तिलोत्तमाले देखिने गरी गरेका केही कामको प्रभावले उत्कृष्ट पालिकाका रूपमा पनि चर्चा बटुलेको छ । खुला प्लाष्टिकमुक्त देखि ग्रीन तिलोत्तमा क्लिन तिलोत्तमा जस्ता अभियानले सरसफाईमा पारेको प्रभावले पनि तिलोत्तमा चर्चामा छ ।
तिलोत्तमाको स्थानीय पाठ्यक्रममा ‘मेरो खल्तीः मेरो पहिलो डस्टविन’ भन्ने अभियानले बालबालिकामा सरसफाइमा विशेष प्रभाव पारेको छ । शैक्षिक क्षेत्रमा प्रभाव पार्ने गरी विद्यालय भवनहरूमा एकै प्रकारको रंगरोगन देखि शिक्षक अभाव भएका विद्यालयमा शिक्षकको व्यवस्थापन देखि स्कूल बसले पनि यहाँ सकरात्मक प्रभाव पारेको शिक्षासँग सरोकार राख्नेहरू बताउँछन् । तिलोत्तमाले कृषि तथा स्वस्थ्य क्षेत्रमा खेलेका भूमिकादेखि लगानी सम्मेलनले पनि मुलुकमा चर्चा बटुल्यो । तिलोत्तमा क्षेत्रमा पर्ने सिद्धार्थ राजमार्गमा राखिएका बुद्ध मूर्तिदेखि ट्राफिक बत्तीले अर्को चर्चा बटुलेको छ । बालमैत्री नगरपालिका अन्य क्षेत्रमा पनि उत्तिकै चर्चामा छ, जसले गर्दा तिलोत्तमालाई उत्कृष्ट पथमा लम्कन मद्दत मिलेको टिप्पणी हुन थालेको छ ।
यस्तो छ नगरस्तरीय बाल सञ्जाल अध्यक्ष स्नेहा पौडेलको भनाइ–
बालमैत्री नगर घोषणासँगै बालबालिकामा उत्साह थपिएको छ । विद्यालयदेखि घर घरमा बालबालिकाका लागि अनुकुल वातावरण बनेको छ । बाल हिंसा, बाल श्रम विरूद्धका आवाजले ती घटनाहरूमा कमी आएको छ । धेरै बालबालिका विभिन्न सञ्जाल तथा समितिमा सक्रिय रहँदा व्यक्तित्व विकासमा मद्दत मिलेको छ । बोल्ने कलादेखि अतिरिक्त क्रियाकलापमा सक्रियता बढाएको छ । बाल विवाहदेखि यातना विरूद्धमा आवाज बढेसँगै ती घटनाहरूमा धेरै कमी आएको छ । बालमैत्री घोषणा यता केही बाल विवाह रोक्ने काम पनि गरेका छौं । उमेर पुगेपछि मात्रै सँगै बस्ने गरी अलग गरिएका घटनाहरू पनि यहाँ छन् । अर्को तर्फ सूर्तीजन्य पदार्थ बालबालिकालाई बिक्री वितरण गर्न रोक लगाइएको छ । शारीरिक यातना दिइएको घटना बाहिर आउँदा साथ सञ्जालसहित सरोकारवाला एक्सनमा जाने हुँदा ती घटनामा पनि कमी आएको छ । अहिले बालबालिकामा रहेको अन्तरनिहित प्रतिभा प्रष्फुटन गर्न समेत यसले मद्दत मिलेको छ । समग्रमा बालमैत्री घोषणासँगै बालबालिकाहरू खुशी छौं ।