२०८२ बैशाख ६

सिद्धार्थनगरमा छाडा कुकुर बन्ध्याकरण शिविर
  • लुम्बिनी खोज
  • २०८२ बैशाख ३, बुधबार ११:३१ गते

बुटवल, ३ बैशाख ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा छाडा कुकुर बन्ध्याकरण शिविर सुरु गरिएको छ । रेबिजको प्रकोप न्यूनीकरण र छाडा कुकुरको संख्या कम गर्न बुधबारदेखि एकहप्ते ‘छाडा कुकुर बन्ध्याकरण शिविर’ सञ्चालन गरिएको हो । चालू आर्थिक वर्षमा सिद्धार्थनगरले यस्तो शिविर दोस्रोपटक आयोजना गरेको हो ।

छाडा कुकुर बन्ध्याकरणका लागि सन् २०१० देखि नेपालमा काम गर्दै आएको संस्था हिमालयन एनिमल रेस्क्यु ट्रस्टको प्राविधिक सहयोग, सिद्धार्थनगर नगरपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र, रुपन्देहीको संयुक्त आयोजनामा उक्त शिविर सञ्चालन गरिएको हो ।

नगर क्षेत्रमा देखापरेका  छाडा कुकुरलाई नियन्त्रणमा लिई शिविर स्थलसम्म ल्याउने काम गरिएको छ । शिविर स्थलमा ल्याएपछि लठ्याएर बन्ध्याकरण गरिनुको साथै एक वर्षसम्मका लागि हुने गरी रेबिजको भ्याक्सिन (खोप) लगाइदिएपछि कुुकुरलाई यथास्थानमै छाडिदिने गरिएको छ । बन्ध्याकरण गरिएको र एक वर्षका लागि रेबिज भ्याक्सिन लगाइएको जानकारीका लागि कुकुरको देब्रे कानमा यु आकारले चिरेर संकेत दिने गरिएको छ ।

हिमालयन एनिमल रेस्क्यु ट्रस्टका संस्थापक तथा सञ्चालक खगेश्वर भट्टराईले शिविर अवधिमा धेरैभन्दा धेरै कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य रहेको बताए ।सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले नगरमा छाडा कुकुरको बन्ध्याकरण र रेबिज भ्याक्सिन कार्यक्रमलाई प्रत्येक वर्ष निरन्तर सञ्चालन गरिएको र यसले बजारमा छाडा कुकुर धेरै कम हुँदै गएको बताए ।

‘संख्यामा वृद्धि नहुने गरी सबै कुकुर व्यवस्थापन गर्ने हाम्रो उद्देश्य हो,’ नगर प्रमुख खानले भने, ‘यस्ता शिविर सञ्चालन गरेर बन्ध्याकरण गरेमा संख्या वृद्धि हुँदैन । खोप पनि लगाइने भएकाले रेबिजको जोखिम पनि कम हुन्छ ।’ उनले आफ्ना टोल छिमेकमा बन्याकरण नगरिएका कुकुर भएमा नगरपालिकालाई खबर गरी बन्ध्याकरण अभियानलाई सफल बनाउनसमेत नगरवासीलाई आग्रह गरेका छन् ।