२०८२ बैशाख ३०

विकासको लागि पहल गर्न प्रचण्डलाई रुपन्देहीका उद्योगी, व्यवसायीहरुको आग्रह
  • लुम्बिनी खोज
  • २०८२ बैशाख ४, बिहीबार १७:३१ गते

बुटवल, ४ बैशाख ।
पुर्ब प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग रुपन्देहीका नागरिक समाज, उद्योगी, व्यवसायी र बुद्धिजीविहरुका बिचमा अन्तरक्रिया गरेको छ । कार्यक्रममा यस क्षेत्रका उद्योगी, व्यवसायीहरुले यस क्षेत्रको आर्थिक बिकासमा सरकारले आश्वासन मात्र दिएको बताउदै रुपन्देहीको आर्थिक र पर्यटन विकासको लागि सदनमा आवाज उठाउन अध्यक्ष प्रचण्डलाई आग्रह समेत गरेका छन ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पार्टीका केन्द्रीय नेताहरु सहभागि जनतासंग माओवादी हुलाकी मार्ग जागरण अभियानको क्रममा रुपन्देहीका नागरिक समाज, उद्योगी, व्यवसायी र बुद्धिजीविहरुले देशको विकास र समृद्धिबारे चिन्ता व्यक्त गरेका छन ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले जिल्लामा निर्माण भएका पूर्वाधार अलपत्र पारिएको तथा नीतिगत रुपमै सरकार स्पष्ट नरहेकोले समस्या थपिएको विचार राखेका थिए । उनीहरुले विकासमा राजनीति नगर्न आग्रह समेत गरे । उनिहरुले देशको आर्थिक क्षेत्र तहस नहस भएकाले सदनमा जनताका आवाज उठाउन र आवश्यक पहल लिन प्रचण्डलाई अनुरोध गरेका थिए ।
माओवादी केन्द्रको जागरण अभियानको क्रममा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले देशको आर्थिक तरलता, युवा विदेश पलायनसंगै रुपन्देहीमा बनेका सुख्खा बन्दरगाह, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, मोतिपुर औद्योगिक क्षेत्र र सेज सञ्चालनबारे विचार राखेका थिए ।
। कार्यक्रममा बोल्दै नेपाल उद्योग व्यापार महासंघका केन्द्रिय महासचिव खेमनारायण पराजुलीले नीतिगत सुधार नगरी अहिलेको आर्थिक समस्याबाट माथि उठ्न नसकिने बताए ।
त्यसैगरी व्यापार संघ लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेलले जुन सरकार आएपनि उद्योगी व्यापारी र नागरिकको अवस्थामा परिवर्तन नआएको बताए । उनले भौतिक र आर्थिक विकासमा दलिय सहमति आवश्यक रहेको औंल्याए ।
घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष गणेश अधिकारीले युवाको विदेश पलायन र उद्योगहरु बन्द हुँदै जाने स्थिति नरोकिए राज्य असफल हुने चिन्ता व्यक्त गरे । उनले नीति बनाउने र नीतिमा टेकेर काम गर्ने नभई हचुवाको भरमा आयोजना ल्याउने र अलपत्र पार्ने कार्यमा राज्यनै लागेको भन्दै यस्तो कार्य रोकिनुपर्ने माग गरे । उद्योग वाणिज्य संघ बुटवलका पुर्व अध्यक्ष नवराज श्रेष्ठले मोतिपुर औद्योगिक क्षेत्र सञ्चालनमा अनावश्यक राजनीति भएको भन्दै चिन्ता व्यक्त गरे । सरकारले शिक्षकका माग सम्बोधन गर्न आलटाल गरेको भन्दै पहल गरिदिन प्रचण्डसँग आग्रह गरे ।

कार्यक्रममा बोल्दै पुर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार नै विचौलियाले चलाएको हुनाले समस्या आएको बताए । उनले आफु सरकारमा हुँदा विमानस्थल चलाउनेदेखि लुम्बिनी बौद्ध विश्वविद्यालयको योजना निर्माण र अर्थतन्त्रको नीतिगत सुधारका लागि काम गर्दागर्दै सेटिङ्गमा सरकार ढालिएको बताए । आफु देशको विकास र समृद्धि कै अभियानमा रहेको उल्लेख गर्दै प्रचण्डले आफुलाई साथ दिन नागरिक समाज, बुद्धिजीवी तथा उद्योगी व्यवसायीलाई आग्रह गरे ।

नेपाल उद्योग व्यापार संघ रुपन्देहीका अध्यक्ष गोविन्द गैरेको अध्यक्षता रहेको कार्यक्रमा माओवादी नेता वामदेव क्षेत्री, उद्योग व्यापार महासंघका बाबुराम पोखरेल लागयतले बोलेका थिए ।