२०८२ बैशाख ११
लुम्बिनी १० बैशाख ।
लुम्बिनीमा ‘लुम्बिनी विश्व सम्पदा सम्मेलन २०२५’ सुरु भएको छ । बुधबारबाट सुरु भएको सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका छन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी केवल ऐतिहासिक र पुरातात्विक स्थल नभई विश्व शान्तिको सन्देश फैलाउने पवित्र भूमि भएको बताए । उनले लुम्बिनीको संरक्षण, प्रचारप्रसार र दीगो विकासका लागि सबै तहका सरकार, सरोकारवाला र अन्तर्राष्ट्रिय समुदायबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
बुद्धको जन्मभूमि लुम्बिनीलाई अध्यात्म, अनुसन्धान, पर्यटन र अन्तर्राष्ट्रिय शान्तिको केन्द्र बनाउनु हाम्रो साझा जिम्मेवारी हो, उनले भने, लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउन सबैले हातेमालो गर्नु पर्छ ।
लुम्बिनी विकास कोषको आयोजनामा तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग, युनेस्को काठमाडौं र आईकोमोस नेपालको प्राविधिक सहयोगमा सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनमा लुम्बिनीको पुरातात्विक महत्व, संरक्षण, अनुसन्धान र तीर्थयात्रासम्बन्धी विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने कार्यतालिका छ ।
दुई दिनसम्म चल्ने सम्मेलनमा विभिन्न सत्रहरूमा विभिन्न वक्ताले विचार प्रस्तुत गर्ने छन् । सम्मेलनले लुम्बिनीको संरक्षण र प्रवर्द्धनमा नयाँ दिशा दिने अपेक्षा गरिएको छ । सम्मेलनले निकालेको निष्कर्षलाई तीन तहका सरकारले कार्यान्वयन गर्ने र साझा योजना निर्माण गर्नुपर्नेमा उद्घाटन सत्रमा जोड दिइएको छ ।