२०८२ बैशाख १३
भैरहवा १२ बैशाख ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) ले सार्वजनिक स्थानमा जथाभावि फोहोर फाल्नेलाई जरिवाना लगाएको छ । पटक पटक सुचना जारी गर्दा समेत अटेर गरी जथाभावि फोहोर फाल्न नछाडेपछि नगरपालिकाले जरिवाना पत्र काटेको हो ।
नगरका सडक पेटी एवं सार्वजनिक स्थानहरुमा जथाभावि फोहोर फाल्ने ६ ब्यबसायीक फर्मलाई पहिलोपटकलाई पाँच हजारका दरले जरिवाना तोकीएको छ । नियमित सरसफाई एवंम फोहोर मैला घर घरमा पुगेर उठाउदाँ पनि कतिपयले अटेर गरी सार्वजनिक स्थानमा फोहोर फाल्न नछाडेपछि बाध्य भएर जरिवाना काट्नु परेको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले जानकारी दिए । ‘नगर स्वच्छ, सफा, हराभरा र सुन्दर राख्ने दायित्व सवैको हो । हामीले सरसफाई गरिरहने र जथाभावि फोहोर पनि फालिनै रहने हो भने यो उदेश्य पुरा हुन सक्दैन । उनले भने‒त्यसकारण नगरसफा राख्ने कार्यमा सवैले सहयोग गरौ ।’
नगरपालिकाले फोहोरमैला ब्यवस्थापन ऐन २०६८ को दफा ३८ (क) को कसुर ठहर गरी सोही ऐनको ३९ (१) अनुसार जरिवाना तोकीएको र उक्त जरीवाना ३ दिन भित्र नबुझाए थप कार्वाही गरीने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए । जथाभावी फोहोर फाल्नेहरु माथी नगरपालिकाले निगरानि बढाएको र त्यसरी जो कोहीले सार्वजनिक स्थानमा फोहोर फालेको पाइए कार्वाही गरिने उनले बताए ।