२०८२ बैशाख १३
नेपालगन्ज १२ बैशाख ।
नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय महाधिवेशन नेपालगन्जमा महाधिवेशनको प्रचारमा मुस्लिमका सवालमा चासो यही वैशाख २० र २१ गते नेपालगन्जमा हुने नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय महाधिवेशनको तयारीका क्रममा प्रचारप्रसारका लागि बाँकेका विभिन्न स्थानीय तहका गाउँमा समेत आयोजना बारे स्थानीयबासीलाई अवगत गराउन थालिएको छ ।
इत्तेहादले महाधिवेशनको प्रचार प्रचारलाई लिएर भैरहेका छलफल, अन्तरक्रियाका क्रममा विकास निर्माणदेखि मुस्लिम समुदायका चासोका विषयहरु राखिने गरेका छन् । ‘महाधिवेशनलाई मुस्लिम समुदाय सँग सम्बन्धित विषयहरु, विकास निर्माण लगायतका विषय उठान गर्ने अवसरका रुपमा प्रयोग गरिनुपर्छ’, प्रचारप्रसारका क्रममा आयोजित कार्यक्रममा सहभागीहरुले बताउने गरेका छन् ।
बिहीबार बाँकेको खजुरा गाउँपालिकामा आयोजित महाधिवेशन तयारी बैठकमा मुस्लिम समुदायका अगुवाहरुले महाधिवेशनलाई सफल बनाउने प्रतिबद्धता जनाउँदै मुस्लिम विद्यार्थीका लागि छुट्टै विश्वविद्यालयका लागि पहल गर्नुपर्ने बताएका थिए । नेकपा एमाले खजुरा गाउँपालिका वडा नं. ७ जैनुल खाँको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य समेत रहेका मुस्लिम फाँट इन्चार्ज मोहम्मद हारुन हलवाईले इत्तेहादको महाधिवेशन बाँकेमा हुनु भनेको केन्द्रीय स्तरमा बाँकेबाट नेतृत्व स्थापित गर्ने अवसर पनि भएको बताएका थिए । ‘इत्तेहादको महाधिवेशन भएपनि यसलाई बाँकेको विकास निर्माण तथा पछाडि परेका वर्गको चासो, चिन्ता अधिकार, मागका विषयमा समेत प्रधानमन्त्रीज्यू समक्ष राख्ने र अवसर पनि हो’, नेकपा एमालेका केन्द्रीय सदस्य एवं मुस्लिम फाँट इन्चार्ज मो. हारुन हलवाई भने, ‘पार्टी अध्यक्ष आउने कार्यक्रम भएकाले नेकपा एमाले पनि इत्तेहादको महाधिवेशन तयारीमा जुटेको छ ।’ उनले महाधिवेशन उद्घाटनको अघिल्लो दिन बैशाख १९ गते नै प्रधानमन्त्री ओली नेपालगन्ज आइपुग्ने जानकारी दिए । ‘१९ गते नै हामीले प्रधानमन्त्रीज्यूलाई जिल्लाका विभिन्न क्षेत्रबाट मागका बारेमा ज्ञापनपत्र बुझाउने र २० गते प्रधानमन्त्रीज्यूले महाधिवेशन उद्घाटनका क्रममा त्यसलाई सम्बोधन गर्नुहुने विश्वास छ’, उनले भने, मुस्लिम फाँट इन्चार्ज मो. हारुनले महाधिवेशन देशभर बाँके चिनाउने अवसर पनि भएको बताए । ‘महाधिवेशनमा देशभरबाट आउने प्रतिनिधि सहित करिब ६ सय जनाले बाँकेको बारेमा बुझ्ने छन्,’ उनले भने । ‘इत्तेहादको महाधिवेशन बाँकेमा हुनु एउटा अवसर हो’, मो. हारुनले भने, ‘यसलाई सबै बाँकेबासीले सफल बनाउनु पर्छ ।’ उनले त्यसका लागि ८१ वटै वडामा महाधिवेशनको प्रचारप्रसार गरिने जानकारी दिंदै महाधिवेशनका दिन हजारौंको सहभागितामा र्र्याली समेत आयोजना गरिने बताएका छन् ।
कार्यक्रममा विशेष अतिथि महाधिवेशन तयारी समितिका संयोजक अब्दुल करिम खानले महाधिवेशन बाँकेले आफ्नो एजेन्डा केन्द्रसम्म पुर्याउने अवसर भएको बताएका छन् । ‘जिल्लाबाट हामीले हाम्रा चासोका विषय जस्तै विकास निर्माण, शिक्षा, स्वास्थ्य एवं यस क्षेत्रका अल्पसंख्यक, मधेसी, मुस्लिम, जनजाति, थारु लगायतका अधिकार विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन सकिनेछ’, उनले भने । महाधिवेशन आयोजक समिति संयोजक अब्दु्ल करिम खानले हालसम्मको गतिविधिमा सबैतिरबाट सहयोग भैरहेको भन्दै महाधिवेशनमा त्यसैखालको सहभागिता रहने विश्वास व्यक्त गरे । त्यस्तै, नेकपा एमाले बाँकेका पूर्व अध्यक्ष किस्मत कुमार कक्षपतिले इत्तेहादको महाधिवेशन सफल पार्ने प्रतिबद्धता व्यक्त गर्दै नेकपा एमाले नेतृत्वको स्थानीय तहदेखि केन्द्रसम्म हुँदा मुस्लिम क्षेत्रको विकासका लागि विभिन्न काम गरेको र हाल पनि गरिरहेको बताएका थिए । नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय सदस्य खलिल मियाँले मुस्लिम समुदायलाई इत्तेहादमा संगठित भई एकताबद्ध हुन आव्हान गरे । ‘एक भएर अघि बढ्यौं, मुस्लिम समुदायका समस्या समाधान गर्न दबाब सिर्जना गर्न सकिन्छ’, उनले भने । मौलाना मुस्लिम खान बरकातीले मुफ्ती, हाफिज, कारी, आलिम अध्ययन गरेकाहरूलाई समानान्तर तह अनुसार मान्यता दिनुपर्ने विषय महाधिवेशनमा उठाउन सुझाव दिएका थिए । ‘भारतमा अध्ययन गरेपछि त्यहाँको सरकारले मान्यता दिएर माथिल्लो तह अध्ययन गर्न पाउने व्यवस्था गरेको छ, रोजगारी समेत पाउने गरेका छन्ु, हाम्रो यहाँ न त रोजगारीको व्यवस्था छ न त माथिल्लो तह अध्ययन गर्न पाउने व्यवस्था’, उनले समस्या बारे जानकारी दिंदै । कार्यक्रममा स्वागत गर्दै नेकपा एमाले बाँकेका सदस्य निशार अली दर्जीले खजुरामा इत्तेहाद महाधिवेशनमा सहभागिताका लागि घरघर पुगेर प्रचारप्रसार गर्ने बताएका थिए । त्यस्तै, बिहीबार नै जानकी गाउँपालिकाको वडा नं. ४ मा भएको छलफल कार्यक्रमको अध्यक्षता गर्दै एमाले जानकी गाउँपालिका अध्यक्ष द्रोण थापाले इत्तेहादको महाधिवेशन पछाडि परेको वर्गको मुद्दा उठाउने थलो भएकाले अवसरका रुपमा प्रयोग गरिनुपर्ने बताएका थिए । आवाद सिद्दिकीले स्वागत गरेको कार्यक्रममा प्रमुख नेकपा एमाले केन्द्रीय सदस्य मो. हारुन, आयोजक व्यवस्थापन समिति संयोजक अब्दुल करिम खाँ, स्थानीय मुस्लिम अगुवा लगायतको उपस्थिति रहेको थियो । त्यसअघि बुधबार बाँकेको कोहलपुर वडा नं. ४ स्थित बेलनपुरमा स्थानीयबासीसँगको छलफलमा महाधिवेशनमा सहभागिताका लागि आव्हान गरिएको थियो । बुधबार कोहलपुरमा नेपाल मुस्लिम इत्तेहाद संगठन कोहलपुरका अध्यक्ष मो. अलि नाउँको अध्यक्षतामा भएको भेलामा नेकपा एमाले कोहलपुरका अध्यक्ष कुल बहादुर भट्टराईले महाधिवेशन सफल बनाउने जिम्मेवारी नेकपा एमालेको मात्रै नभई बाँकेबासीको भएको बताएका थिए ।
प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य मो. हारुन हवलाईले महाधिवेशनमा समुदायका सवालहरू स्थानीय स्तरदेखि केन्द्रसम्म पहल गर्ने प्रतिबद्धता जनाएका थिए । त्यस्तै, मंगलबार बाँकेको नरैनापुर गाउँपालिकामा स्थानीयबासीसँग अन्तरक्रिया गरिएको थियो । त्यसक्रममा स्थानीयबासीले महाधिवेशन इत्तेहादको भएपछि महाधिवेशनमा प्रधानमन्त्री समेत आउने भएकाले नरैनापुरको विकास, आवश्यकताका बारेमा ध्यानाकर्षण गराइनु पर्ने धारणा राखेका थिए । ‘नरैनापुरको शिक्षा, स्वास्थ्य, पूर्वाधारको विषय प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइनुपर्छ’, उनले भने, ‘महाधिवेशनलाई नरैनापुरको विषय उठाउने र सरकार समक्ष पुर्याउने अवसरका रूपमा प्रयोग गरिनुपर्छ ।’ कार्यक्रममा सहभागीहरूले इत्तेहादको महाधिवेशन सफल बनाउन आफुहरू लागि पर्ने बताउँदै त्यसका लागि पाएको जिम्मेवारी वहन गर्ने बताएका थिए ।
नेपाल मुस्लिम इत्तेहाद संगठन नरैनापुर गाउँपालिकाका अध्यक्ष मोल्हे शेखको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि, नेकपा एमालेका केन्द्रीय सदस्य एवं मुस्लिम फाँट इन्चार्ज मो. हारुन कादरीले महाधिवेशन बाँकेका लागि आवसर भएको भन्दै विशेष सन्देश दिनका लागि सबै सबैको सहयोग आवश्यक भएको बताएका थिए । कार्यक्रममा नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय सदस्य अकरम अन्सारी, सगीर खान, जमील हल्वाई, इब्राहीम शेख, खलील मिया, नेकपा एमाले नरैनापुरका अध्यक्ष जावेद खान लगायत स्थानीय अगुवाहरूको उपस्थित थियो । कार्यक्रममा इत्तेहादका केन्द्रीय सदस्य अकरम अन्सारीले स्वागत गर्दै महाधिवेशन बारे करीम खान, हारुन कादरीले बोलेका थिए । अध्यक्षता गरेका मोल्हे शेख लगायत त्यहाँका अगुवाहरूले महाधिवेशनमा नरैनापुर बाट बाक्लै उपस्थिति हुने प्रतिबद्धता जनाएका छन ।