२०८२ बैशाख २३
बुटवल २१ बैशाख ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले कानुन बनाउने निकायमा जनताको सिधा पहुँच बढाउन जरुरी रहेको बताएका छन् । जनताको प्रतिनिधित्वमा बन्ने कानुन नै जनताको कानुन हुने बताउदै उनले जनताको पक्षमा कानुन बनोस भन्ने सतर्कता अनुरुप नै ब्यवस्थापिकलाई कानुन बनाउने अधिकार दिईएको र सोही अनुसार बिश्वमा अभ्यास भईरहेको उल्लेख गरे ।
लुम्बिनी प्रदेश सभा सचिवालयले आइतबार बुटवलमा गरेको शैक्षिक संस्थाहरुमा अध्ययरत बिद्यार्थीहरुको लागी अभ्यास संसद कार्यक्रमको उदघाटन गर्दै सभामुख घर्ती मगरले संसद जनताको सार्बभौमसत्ता प्रयोग गर्ने थलो भएको भन्दै लुम्बिनी प्रदेश सभामा जनताको सार्बभौमिकता प्रयोग गरि प्रदेशलाई आवश्यकता पर्ने कानुन निर्माण गर्ने गरिएको बताए । प्रदेश सभाले कानुन बनाउने, सरकार बनाउने, नीति कार्यक्रम बनाउने र संसदीय निगरानी गर्ने भन्दै उनले प्रदेश सभामा पहुँच वृद्धि गर्न विद्यार्थीसंग कार्यक्रम गरिएको बताए ।
लुम्बिनी प्रदेशका उपसभामुख मेनुका खाड केसीले मुलुकको जिम्मेवारी युवाको काधमा आएको बताउदै युबा पुस्ताले स्वदेश मै सम्भावना देख्न जरुरी रहेको बताइन ।
लुम्बिनी बौद्ध बिश्वबिद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डिन डा. हरिशरण चखुँले अभ्यास संसद कार्यक्रमले बिद्यार्थीलाई ब्यवहारिक ज्ञान दिलाउने बिश्वास व्यक्त गरे ।
लुम्बिनी प्रदेश सभा सचिवालयका सचिब दुर्लभ कुमार पुनले कानुन कसरी बनाईन्छ भन्नेकुरा ब्यवहारिक रुपमा अभ्यास गराईने र यसले बिद्यार्थीलाई कानुन निर्माणको ब्यवहारिक ज्ञान हासिल गर्न सहयोग पुग्ने बताए ।
दुई दिन सम्म बुटवलमा संचालन हुने उक्त कार्यक्रममा लुम्बिनी बौद्ध बिश्वबिद्यालय स्कुल अफ ल सिटि क्याम्पस बुटवलका कानुनका १ सय बढी बिद्यार्थीहरु सहभागी छन् । कानुन निर्माण प्रक्रियाको विषयमा ब्यवहारिक ज्ञान दिने उदेश्यले प्रदेश सभा सचिवालयले यो कार्यक्रम संचालन गरेको जनाएको छ ।