२०८२ जेष्ठ १९
बुटवल १० जेठ ।
नवीन औद्योगिक कदर बहदुर रीता माध्यमिक विद्यालय देवीनगरमा विज्ञान विषय प्रवर्द्वन अन्तरगत शिक्षक क्षमता विकास तालिम शनिवार सम्पन्न भएको छ ।
नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालमा कक्षा ११ र १२ मा विज्ञान विषय संचालन भएका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्ने उद्वेश्यले ५ बर्षको लागि विद्यालय विकास योजना निर्माण गरी प्रयोगशाला सामग्री खरिद र व्यवस्थापन, पुस्तकालय व्यवस्थापन, शिक्षक क्षमता विकास तालिम लगायतका कार्यक्रमको लागि साठी लाख बजेट विनियोजन गरेको छ ।
यसै क्रममा विद्यालयले एक दिवसीय तालिम कार्यक्रम संचालन गरेको हो । तालिम कार्यक्रममा बुटवल उपमहानगरपालिका शिक्षा शाखा प्रमुख टिकाराम पन्थी, विषय विज्ञको तर्फबाट भौतिक शास्त्र विषय विज्ञ प्राध्यापक डाक्टर रमेश नारायण त्रिपाठी, र सहभागीको तर्फबाट सामाजिक विषयका कृष्ण प्रसाद ज्ञवाली लगायतले मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा भौतिक विषयका प्रशिक्षक प्रा.डा. रमेश नारायण त्रिपाठी, शिक्षा तथा सामाजिक विषयका प्रशिक्षक डा. प्रकाश पौडेल, जीव विज्ञान विषयका प्रशिक्षक डा. मुक्तिराम पौडेल, गणित विषयका डा. रबिन्द्र गुप्ता, रसायन शास्त्रका उपप्राध्यापक माधव गौतम, अंग्रेजी विषयका किशोर कुमार खनाल र मन्टेश्वरीका यशु पाण्डेयले सहजीकरण गरेका थिए ।
विद्यालयका प्रधानाध्यपाक प्रेम बहादुर बस्नेतको अध्यक्षतामा विज्ञान समूह इन्चार्ज लक्ष्मी नारायण चौधरीको संचालनमा सम्पन्न तालिम कार्यक्रममा विद्यालयका १७५ जना शिक्षक तथा प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।
विद्यालयका प्रधानाध्यपाक प्रेम बहादुर बस्नेतका अनुसार विद्यालयमा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाई भक्तपुरबाट तीन तले १२ कोठे भवन निर्माण गर्न साढे चार करोडको टेण्डर भएको छ । विद्यालयमा मन्टेश्वरी देखि कक्षा १० सम्म पूर्ण अंग्रेजी माध्यममा, कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, सिभिल इन्जिनियरिङ, कानुन र शिक्षा समूह अध्यापन हुने गर्दा नेपालमा प्रत्येक प्रदेशबाट ६ वटाका दरले उत्कृष्ट छनौट भएका सात प्रदेशका ४२ वटा विद्यालयहरु वीच १६ वटा सूचकका आधारमा भएको प्रतिष्पर्धामा विद्यालय नेपालमा द्वितीय भएको छ भने नेपाली सेना तारादल गणबाट सिनियर डिभिजनमा एनसीसीमा छनौट भएको छ । अखिल नेपाल फुटवल संघबाट छनौट भएका २५ र बुटवल उपमहानगरपालिकाबाट छनौट भएका ५ जना गरी ३० जना फुटवलका खेलाडी विद्यार्थीहरु विद्यालयमा अध्ययनरत छन् ।
विद्यार्थी संख्यामा सामुदायिक तर्फ पाँचौं ठुलो यस विद्यालयमा हाल करीव ५ हजार विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।