२०८२ जेष्ठ १६

नयाँ राजनीतिक ध्रुविकरण जरुरीः विप्लव
  • लुम्बिनी खोज
  • २०८२ जेष्ठ १५, बिहीबार ०९:१७ गते

बुटवल १५ जेठ ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकमा नयाँ राजनीतिक ध्रुविकरण जरुरी भएको बताएका छन् । अहिलेको गणतन्त्रप्रति असन्तुष्टी बढ्दो रहेको र यसका लागि गणतन्त्र दोषी नभएको उल्लेख गरे । उनले समाजप्रति उत्तरदायी हुने राज्य प्रणालीको दिशा निर्देश समाजवादबाट हुन सक्ने धारणा राख्दै उनले यसमा बहसको खाचो औल्याए ।
जनपत्रकार संगठन र जनगर्जन मिडिया प्रालिले बिहिवार बुटवलमा गरेको २३ औं कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा गणतन्त्र, जनपक्षिय पत्रकारिता र कृष्णसेन इच्छुकको भुमिका विषयक अन्तरक्रियामा उनले गणतन्त्र स्थापना भएपनि सामन्तवादको समूल नष्ट गर्न नसक्दाको परिणाम अहिलेको संकट भएको पनि बताए । जनताको आर्थिक जीवनमा परिवर्तन ल्याउन नसक्नु र राज्यलाई वास्तविक गणतन्त्रमा परिवर्तन गर्न नसक्नुको परिणाम नै अहिलेको बढ्दो जनअसन्तुष्टी रहेको उनले विश्लेषण गरे । अहिलेको असन्तुष्टीको समाधान नेपाली विशेषताको मौलिकतासग मेल खाने समाजवाद हुने उनले बताए । अब संकटको समाधान यसरी हुन सक्छ भनेर बहस गर्नु जरुरी रहेको भन्दै उनले समाजको रुपान्तरण गर्ने बेला भएको बताए । असन्तुष्टीलाई रुपान्तरण गर्दै विघटनतीर नभइ निर्माण तर्फ लग्नुपर्ने पनि उनले बताए । उनले समाजको रुपान्तरण गर्न नेपाली मौलिकताको समाजवादका लागि नयाँ राजनीतिक ध्रुविकरण जरुरी भएको धारणा राखे ।
कृषिमा जमीनदारी प्रथा रहेको, शिक्षा, स्वास्थ्य महंगो रहेको भन्दै विप्लवले पार्टीहरुका घोषणा पत्रमा समाजवाद लेखेर नहुने यसका लागि नेपाली मौलिकताको समाजवादका लागि खुल्ला बहसको खाचो औल्याए । समृद्ध नेपाल सुखी नेपाली नारा उपयुक्त नभएको चर्चा पनि उनले गरे । आत्मनिर्भर अर्थतन्त्र, आत्मनिर्भर उत्पादन नेपालको नारा हुनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल, लेखक दिल साहनी, बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठक, जनपत्रकार संगठनका प्रकाश डुम्रेलगायतले पत्रकारिता, कृष्ण सेन इच्छुक तथा गणतन्त्रका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा पत्रकारहरु छविलाल विश्वकर्मा(दीपक) र यानेन्द्र जीसीलाई सम्मान गरिएको थियो ।