२०८२ असार ९
बुटवल ।
पाँच दलीय सत्ता गठबन्धनबीच वैशाख ३० गते हुने स्थानीय चुनावमा महानगर र उपमहानगरको भागबन्डा मिलेको छ। बालुवाटारमा बसेको गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरमा सिट बाँडफाँडको टुंगो लगाएको हो। गठबन्धनले सम्पूर्ण पालिकामा पनि चुनावी तालमेल गर्ने सहमति गरेको छ।सहमति अनुसार नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको मयेर, वीरगन्ज, भरतपुर र पोखरा महानगरको उपमेयर पाउने छ। यस्तै धरान, इटहरी, कलैया, बुटवल, ललसिपुर, नेपालगन्ज र धनगढी उपमहानगरको मेयर, जितपुर सिमरा, घोराही, जनकपुर र हेटौंडाको उपमेयर कांग्रेसको भागमा परेको छ। नेकपा माओवादी केन्द्रले भरतपुर महानगरको मेयर, ललितपुर महानगरको उपमेयर पाएको छ। यस्तै उपमहानगरपालिकामा जितपुर सिमरा र घोराही माओवादीको भागमा परेको छ। धरान र धनगढी उपमहानगरको उपमेयर माओवादीको भागमा परेको छ।
नेकपा एकीकृत समाजवादीलाई पोखरा महानगरपालिकाको मयेर दिन सहमति भएको छ। काठमाडौंको उपमेयर पनि एसले पाउने भएको छ। हेटौंडा उपमहानगरको मयेर, इटहरी, बुटवल र तुलसिपुरको उपमेयर समाजवादीको भागमा परेको छ।
जसपाले वीरगन्ज महानरपालिकाको मयेर, विराटनगरको उपमेयर पाउने सहमति भएको छ। यस्तै जनकपुर उपमहानगरको मेयर, कलैया र नेपालगन्जको उपमेयर पनि जसपाको भागमा परेको छ। यसअघि २०७४ सालमा भएको स्थानीय चुनावमा ६ महानगरमध्ये दुई (काठमाडौं र पोखरा) एमालेले जितेको थियो भने कांग्रेसले ललितपुर र विराटनगरमा जित हात पारेको थियो। भरतपुरमा कांग्रेसको समर्थनमा माओवादी केन्द्रले मेयर जितेको थियो भने वीरगन्जमा तत्कालीन संघीय समाजवादी फोरमले जितेको थियो।
उपमहानगरमध्ये एमालेले घोराही, तुलसीपुर, बुटवल, हेटौंडा, जितपुर सिमरा, इटहरी र धरानमा जितेको थियो भने कांग्रेसले धनगढी र कलैयामा जित हात पारेको थियो। धरानमा उपनिर्वाचन हुँदा मेयर कांग्रेसले जितेको थियो। नेपालगन्जमा राप्रपा र जनकपुरमा राजपाले मेयर जितेका थिए।