२०८१ श्रावण १२

हात्तीसुँढमा जसपाको चुनावी प्रचारप्रसार कार्यालय स्थापना
  • लुम्बिनी खोज
  • २०७९ बैशाख ८, बिहीबार ०९:५३ गते

बुटवल। बुटवल आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी, नेपाल बुटवल उपमहानगर समितिले बुटवल वडा नं. ११ स्थित हात्तीसुँढमा चुनावी प्रचारप्रसार सम्पर्क कार्यालय स्थापना गरेको छ ।

बुधबार एक कार्यक्रम गरी पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज कमल खनालले सो चुनावी सम्पर्क कार्यालयको उदुघाटन गरेका हुन् । कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै सहइन्चार्ज खनालले जसपा सुशासन र सदाचारको पक्षमा दह्रोसँग उभिने बताउँदै स्थानीयतह, वडा र टोलटोलमा हुने आर्थिक अनियमितता र भ्रष्टाचारको भण्डाफोर गर्दै जनतालाई जागरुक बनाउन पार्टी प्रतिबद्ध भएको बताए । उनले अबको निर्वाचनमा जसपा नेपालले स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानीका साथै भूमिहीन सुकुम्बासीहरुका लागि उचित र गुणस्तरीय आवासको प्रबन्धमा जोड दिने उल्लेख गरे।

त्यस्तै कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं आर्थिक विश्लेषक मनिकर कार्कीले जसपा, नेपालले मुलुकका सबै उत्पीडित जाति, वर्ग र समुदायका मानिसहरुलाई सम्मान र सुरक्षा प्रदान गर्ने बताउँदै यो पार्टी सबै उत्पीडित वर्ग र समुदायको घर भएको बताए । उनले पुराना पार्टीहरुले सुकुम्बासी एवं भूमिहीनहरुमाथि भोट र नोटको राजनीति गरेकाले अब त्यसको दिगो समाधान निकाल्नुपर्नेमा जोड दिंदै जसपाले स्थानीय तहको निर्वाचनमा शिक्षा, स्वास्थ्य, रोजगारीका विषयहरुमा जोड दिने बताए ।

कार्यक्रममा बोल्दै जसपा बुटवल उपमहानगरका इन्चार्ज नारायण नागिलाले स्थानीय टोलसमितिका नाउँमा भएका आर्थिक अनियमितता र भ्रष्टाचारको भण्डाफोर गर्दै त्यस्ता गतिविधिमा संलग्नहरुलाई कानूनी कारबाहीको दायरामा ल्याउन पार्टीले पहल गर्ने बताए । त्यस्तै उपमहानगर कमिटीका अध्यक्ष बामदेव भुसालले जनता समाजवादी पार्टी स्थानीय बासिन्दाले भोगिरहेका आधारभूत समस्याहरुबाट परिचित भएकोले शिक्षा, स्वास्थ्य, रोजगारीका समस्यालाई समाधान गर्दै समुन्नत उपमहानगर बनाउन क्रियाशील हुने बताए । त्यस्तै कार्यक्रममा बोल्दै पार्टीका नेताहरु साबित्री विक, तेजु राना, हरि घर्ती मगर, पार्वती विक, शुषी पुलामी मगर, अनिता लामा, राधा अधिकारीलागायतले बोलेको थिए ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब ५० जना जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुमा पृथ्वी बहादुर चुदार, टेवा लामा, विप्लव गलामी, रोल बहादुर राना, राधादेवी अधिकारी, सीता कुँवर, अस्मिता पौडेल, डिबी रसाइली, ममता गाहा, भगवती कुँवरलगायत रहेका छन् ।