२०८२ असार ९

भ्रष्टाचार उन्मूलनका लागि आफुलाई विश्वास गर्न अध्यक्ष लिङ्देनको आग्रह
  • लुम्बिनी खोज
  • २०७९ बैशाख ८, बिहीबार १७:४३ गते

बुटवल ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशबाट सधैंका लागि भ्रष्टाचार उन्मूलन गर्न एकपटक आफूलाई विश्वास गर्न आग्रह गरेका छन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले बिहीबार बुटवलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आफ्नो पार्टीले जित्ने स्थानीय तहमा भ्रष्टाचारको नामसमेत सुन्न नपाउने गरी काम गर्ने उल्लेख गर्दै उम्मेदवार बन्न चाहनेहरूले भ्रष्टाचार गर्दिनँ भनेर सार्वजनिक रूपमा कसम खान आग्रह गरे। राप्रपा देश बचाउने अनि देश बनाउने भन्दै हिडेको छ, देश सुधार्ने मौका तीन तहका निर्वाचन मार्फत राप्रपालाई दिनुहोस्, उनले भने । एमाले, कांग्रेस, माओवादी जस्ता पार्टीबाट मुलुकको हित हुन नसक्ने जिकिर गर्दै उनले ती पार्टीहरुलाई पुनः मत दिएर गल्ती नगर्न मतदातालाई आग्रह गरे । उनले ती पार्टीमा रहेका इमान्दार कार्यकर्तालाई पार्टी छाड्न अनुरोध गरे, त्यस्तै नया मतदाता लाई राप्रपा रोज्न अनुरोध गरे । ३६ लाख भन्दा पनि बढी नया मतदाता रहेको अहिलेको अवस्थामा उनले देश बचाउने, बनाउने तथा धर्म जोगाउने पार्टी राप्रपा नै भएको दावी गर्दै नया मतदातालाइ राप्रपा रोज्न आग्रह गरे ।

राप्रपाले भष्टाचार विरुद्धको अभियानमा रहेको चर्चा गरेका उनले यो कठीन काममा दृढ विश्वासका साथ जुटन आग्रह समेत गरे । राप्रपाले जितेका तहहरुमा भष्टाचारलाई शुन्यमा झारिने दावी गर्दै उनले राप्रपाले जनतालाई धोक्का नदिने समेत बताए । कार्यक्रममा वोल्दै राप्रपा नेतृ रेखा थापाले राप्रपाले जनतालाई निरास हुन नदिने बताइन । जनताको सेवकका रुपमा राप्रपाले काम गर्ने उनले बताइन । कार्यक्रममा राप्रपाका लुम्विनी प्रदेश अध्यक्ष प्रदीपकुमार उदयले स्थानिय निर्वाचनका लागि बुटवलसहित रुपन्देहीका विभिन्न पालिकाका प्रमुखका उम्मेदवारहरु घोषणा गरेका थिए । राप्रपाले बुटवलमा मृगेन्द्र शेरचन, सिद्धार्थनगर नगरपालिकामा सागरप्रताप राणालाई मेयरको उम्मेदवारमा अगाडी सारेको छ ।