२०८२ भाद्र १६

उद्योग संघ महिला उद्यमी समितिको तीज मिलन
  • लुम्बिनी खोज
  • २०८२ भाद्र ५, बिहीबार १३:३४ गते

बुटवल, ५ भदौ ।
रुपन्देही उद्योग संघ अन्तर्गत महिला उद्यमी समितिको आयोजनामा तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न भएको छ।
कार्यक्रममा  बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्यालले तीजको गीत गाएर कार्यक्रमको उद्घाटन गर्दै  तीज केवल महिलामात्रको पर्व नभई सम्पूर्ण नेपाली समाजको साझा चाडका रूपमा विस्तार भएको बताइन् । तीज पर्वलाई सामाजिक विभेदविरुद्ध, अधिकार, समानता र आत्मनिर्भरता प्रवद्र्धन गर्ने अवसरका रूपमा अघि बढाउनुपर्नेमा जोड दिइन् ।
महिला उद्यमी समिति अध्यक्ष पार्वती गिरीले तीज मिलनलाई महिला उद्यमीहरूबीच आत्मीयता र एकताको प्रतीकका रूपमा लिदै “उद्यमशीलता र संस्कृतिको समन्वयबाट मात्रै महिला सशक्तिकरण सम्भव भएको धारणा राखिन् ।
रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले संघले सामाजिक उत्तरदायित्व अन्तर्गत महिला सशक्तिकरणलाई प्राथमिकतामा राख्दै आएको स्मरण गर्दै, यस प्रकारका कार्यक्रमहरूले आपसी सद्भाव र सहकार्यलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
पूर्व अध्यक्ष परिषद्का संयोजक एवं पूर्व अध्यक्ष डम्बरदेव अर्यालले संघको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी गराउँदै शुभकामना ब्यक्त गरे । त्यसैगरी महिला सचिव मञ्जु भुसालले अहिलेका महिला, अधिकार माग्ने मात्र होइन समस्या समाधानमा पनि जिम्मेवारी छन् र उद्यमशील क्षेत्रको  नेतृत्व गरेर अगाडि बढ्न सक्ने बताइन् । कार्यक्रमको सञ्चालन महिला उद्यमी समिति सचिव कमला पन्थले गरेकी थिइन् ।
कार्यक्रममा निवर्तमान पूर्व अध्यक्षहरू एजाज आलम, तेजकुमार पाठक, बोनिन पिया, बाबुराम बोहोरा, निवर्तमान अध्यक्ष माधवप्रसाद पौडेल, संघका पदाधिकारी, कार्यसमिति सदस्य सल्लाहकार एवं महिला उद्यमी सदस्यहरूको पारिवारिक सहभागिता रहेको थियो ।