२०८२ भाद्र १८
बुटवल, ८ भदौ ।
बाँगी (अर्घाखाँची) सम्पर्क समाज रुपन्देहीको पाँचौँ साधारण सभा तथा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ । समाजलाई एकताबद्ध बनाउने मात्र नभई संस्कृतिको संरक्षण र समुदायबीच आत्मीयता बढाउन भुमिका खेल्दै आएको समाजले गरेको कार्यक्रममा सहभागिहरु तीजको मौलिक गीतको लय र नृत्यमा रमाएका थिए ।
बुटवलको फुलबारीमा सम्पन्न कार्यक्रममा बोल्दै शोभाकर भुसालले सम्पर्क समाजले टाढा–टाढा बस्ने सबैलाई एउटै सूत्रमा बाँध्ने काम गरेको बताए । जमघटले संस्कृतिको संरक्षण गर्न, भावी पुस्तालाई आफ्नो पहिचानबारे गर्व गर्न प्रेरित गर्ने भन्दै उनले समाजप्रति आफ्नो निरन्तर साथ रहने बताए ।
संरक्षक डबल बि सी ले समाज समुदायको साझा सम्पत्ति भएको चर्चा गर्दै सबैको सानो–सानो योगदानले ठूलो काम गर्न सकिने बताए । प्रध्यापक डाक्टर दुर्गा भुसालले समाजको भूमिका अझ फराकिलो बनाउन सुझाव दिए । कार्यक्रमले आपसी सम्बन्धलाई बलियो बनाउने र नयाँ पुस्तालाई सामाजिक उत्तरदायित्वबारे सचेत गराउने उल्लेख गर्दै उनले भविष्यमा समाजले स्वास्थ्य, शिक्षा र सीप विकास जस्ता क्षेत्रमा पनि ध्यान दिन सके अझ प्रभावकारी हुने बताए ।
पाँचौँ साधारण सभा तथा तीज मिलन कार्यक्रमले अर्घाखाँची बागीका सदस्यलाई रुपन्देहीमा पनि एकताको सूत्रमा बाँध्न सफल भएको र संस्कृतिको संरक्षण, समुदायबीचको सहकार्य र नयाँ पुस्तामा आफ्नो पहिचान जगाउने यो खालको कार्यक्रमले सम्पर्क समाजलाई अझ सबल बनाउँदै लैजाने नेपाल पत्रकार महासंघ कपिलबस्तुका अध्यक्ष डिलाराम भुसालले बताए ।
कार्यक्रममा कोषाध्यक्ष ठाकुर पन्थीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै समाजको आय–व्यय, प्राप्त सहयोग र पारदर्शिताबारे जानकारी गराएका थिए । संस्थाका अध्यक्ष बाबुराम खनालले समाजले विगत वर्षमा गरेका गतिविधि, सफलताहरू र आगामी योजनाबारे वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कलाकार सागर खड्का, प्रकाश दर्नाललगायतले प्रस्तुत राखेका थिए । तीज गीत र लोकगीतमा सहभागीहरू छमछमी नाचेका थिए । विशेषगरी महिलाहरूको उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई साँच्चै तीजको उत्सव थपेको थियो ।
समाजलाई विभिन्न तरिकाले सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान पनि गरिको थियो । समाजका अध्यक्ष बाबुराम खनालको अध्यक्षता, मालारानी ५ का पूर्व वडा अध्यक्ष शोभाकर भुसालको प्रमुख आतिथ्य र सचिव मदन मिश्रको सञ्चालनमा सम्पन्न् कार्यक्रममा संयोजक विष्णु बहादुर कुँवरले स्वागत गरेका थिए ।