२०८२ भाद्र २१
बुटवल, २० भदौ ।
चाडपर्वमा सवारी ब्यबस्थापन र दुर्घटना न्यूनिकरण अभियानमा सरोकारवालाहरुबिच सहकार्य आवश्यक रहेकामा जोड दिइएको छ । चाडपर्वमा यात्रु र सवारी दुबैको चाप बढ्ने भएकोले चुनौतीको रुपमा रहेको सवारी ब्यबस्थापन र संभावित दुर्घटना न्यूनिकरणका लागि सरकारी र निजिक्षेत्र बिच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको हो ।
पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.द्वारा आयोजित सवारी ब्यबस्थापन तथा दुर्घटना न्यूनिकरण अभियान कार्यक्रममा बोल्दै सरोकारवालाहरुले प्रहरी, यातायात क्षेत्रका ब्यबसायी, मजदुरका साथै यात्रुहरुको समेत महत्वपुर्ण भुमिका हुने बताए । राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय बुटवलका प्रहरी निरिक्षक ईश्वरी अधिकारीले सडक प्रयोगकर्ता यात्रु, सवारी साधनको अवस्था, भौगोलिक अवस्था, छाडा चौपाया, मौसमको गडबडीलगायत सवारी दुर्घटनाका कारण धेरै हुने चर्चा गर्दै प्रमुख जिम्मेवारी चालकको हुने बताए ।
वरिष्ठ सहायक निरिक्षक ज्ञानु पाण्डेले सवारी ब्यबस्थापन र दुर्घटना न्यूनिकरणका लागि प्रहरी सँगसँगै यातायात ब्यबसायी, चालक, मजदुर र यात्रु सबै उत्तिकै जिम्मेबार हुनुपर्ने धारणा राखे । चाडपर्वमा हुनसक्ने संभावित दुर्घटनाबाट आफुपनि बँच्न र अरुलाई पनि बचाउन सबै सरोकारवाला पक्षलाई गम्भिर हुन पाण्डेले आग्रह गरे ।
पश्चिम नेपाल बस प्रा.लि.का संचालकहरु नारायण प्रसाद घिमिरे, जितेन्द्र खत्री, यातायात मजदुर संगठनका उपाध्यक्ष ठाकुर गैरे, बतास कमर्सियल भेहिकल प्रा लि.का ठाकुर कुमार गाहा, हरि भट्टराई, प्रदिप पौडेललगायतले सामान्य यात्राका साथै धार्मिक कार्य, जन्म र मृत्युपछिको दाहसंस्कार जस्तो महत्वपुर्ण यात्राको लागि समेत सवारी चालकको भरमा यात्रा गर्नुपर्ने भएकोले पेशालाई सम्मानित र मर्यादित बनाइरहने मुख्य दायित्व पनि चालकहरूको भएको कुरामा जोड दिएका थिए ।
कार्यक्रममा करिब २ सय जना यातायात ब्यबसायी, चालक तथा सहचालकहरु सहभागि रहेको प्रा.लि.ले जनाएको छ । बिसं २०६६ सालदेखि निरन्तर संचालनमा रहेको प्रशिक्षण अभियान अन्तर्गत हालसम्म ८ हजार ७ सय भन्दा बढि ब्यबसायी, चालक र सहचालकलाई प्रशिक्षण प्रदान गरिएको प्रा.लि.का संचालक नारायण घिमिरेले जानकारी गराए ।