२०८२ भाद्र २४
बुटवल, २३ भदौ ।
सोमबार जेनजीहरुको प्रर्दशनमा मृत्यु हुनेको संख्या १९ पुगेको छ । नयाँ बानेश्वरको प्रदर्शनमा गोली लागेपछि विभिन्न अस्पतालमा उपचारको क्रममा उनीहरूको मृत्यु भएको हो । प्रदर्शनको सुरक्षामा खटिएका नेपाल प्रहरीका १० जना र सशस्त्रका ९ जना घाइते भएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो । त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन ।
७ जनाको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको छ । उनीहरूमध्ये ४ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा कालिकोट खाडाचक्र नगरपालिका–१ घर भएका २५ वर्षीय पवन शाही, बाँके घर भएका २५ वर्षीय सुलभ राज श्रेष्ठ, करिब १९ वर्षीय सिमाय चौलागाईं र कीर्तिपुर नगरपालिका–२ घर भएका ४१ वर्षीय बुद्धिबहादुर तामाङ छन् ।
श्रेष्ठ र चौलागाईंको टाउकोमा गोली लागेको छ । पवन शाहीको पेटमा गोली लागेको ट्रमा सेन्टरका एक जना चिकित्सकले बताए ।