२०८२ भाद्र २७
काठमाडौ , २७ भदौ ।
सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रधानमन्त्री पदमा नियुक्त गरेका छन । यससँगै पहिलो महिला प्रधानन्याधीश बनेर इतिहास रचिसकेकी कार्कीले पहिलो महिला प्रधानमन्त्रीको रुपमा पनि अर्को इतिहास बनाएकी छिन ।
भदौ २३ गते जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीको गोली लागेर कम्तीमा १९ जना युवाको मृत्यु भएपछि २४ गते आक्रोशित समूहले देशभर प्रदर्शनसहित आगजनी र तोडफोड गरेको थियो ।
त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । ओलीको राजीनामापछि अन्तरिम सरकार गठनबारे सरोकारवाला पक्षबिच भएको छलफलमा संसद् विघटन र जेनजीका माग सम्बोधन गर्नेगरी कार्कीको नेतृत्वमा सरकार गठन गर्ने सहमति जुटेको थियो ।