२०८२ कार्तिक १४

सिमित स्रोत साधनको अधिकतम उपयोग गर्दै योजना कार्यान्वयनमा सरकार केन्द्रित छः मुख्यमन्त्री आचार्य
  • लुम्बिनी खोज
  • २०८२ कार्तिक ९, आईतवार १३:३१ गते

अर्घाखाँची ९ कात्तिक ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सिमित स्रोत र साधनको अधिकतम उपयोग गर्दै योजना निर्माण र कार्यान्वयनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।
नेकपा (एमाले)ले सन्धिखर्क.५ वाङ्गलामा गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रमलाइ सम्वोधन गर्दै उनले स्रोत–साधनको सिमितताबीच पनि विकास योजनाहरूलाई प्रभावकारी रूपमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए ।
‘हामी चाहन्छौं, जनताको आवश्यकता र समस्या छिटो समाधान होस् । तर साधन–स्रोतको कमीका कारण कतिपय योजना समयमा सम्पन्न हुन सकिरहेका छैनन्,’ उनले भने, यद्यपि, थालनी भएका योजनाहरूलाई पूरा गर्ने लक्ष्यसहित सरकार निरन्तर लागिपरेको छ ।’

मुख्यमन्त्री आचार्यका अनुसार सडक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा सरकारले उच्च प्राथमिकता दिएको छ । उनले कुँडुले खानेपानी आयोजना कार्यान्वयन गरी पूरा गर्नेगरी सरकार अघि बढेको र मिलमिले–बलेवाङ्ग सडकसँगै सन्धिखर्क–तम्घास सडकखण्डको बाँकी काम पनि छिट्टै अघि बढ्ने जानकारी दिए ।
‘विकास निर्माणका काम अघि बढाउने विषयमा मैले गरेका प्रतिबद्धता र प्रतिज्ञाबाट म अलिकति पनि विचलित भएको छैन,’ उनले भने, ‘विकास निर्माणको कामलाई अगाडि बढाउने सवालमा दृढताका साथ लागिरहेको छु र आगामी दिनमा पनि निरन्तर लागिरहने छु ।’
कार्यक्रममा एमाले जिल्ला सदस्य शुष्मा श्रेष्ठ, शिव अधिकारी, डिलाराम बन्जाडे लगायतले सम्वोधन गरेको कार्यक्रमको सहजीकरण प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष शोभाखर पन्थीले गरेका थिए ।