२०८२ कार्तिक २९

बुटवलमा एमालेको जनप्रदर्शन
  • लुम्बिनी खोज
  • २०८२ कार्तिक २९, शनिबार ०९:३५ गते

बुटवल, २९ कात्तिक ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा जनप्रदर्शन र्‍याली आयोजना गरेको छ । यस्तै बुटवलमा पनि नेकपा (एमाले) ले मार्चपास तथा जनप्रदर्शन र्‍याली सम्पन्न गरेको छ। लोकतन्त्रको जगेर्ना र संविधानको सुरक्षाका लागि विभिन्न एजेन्डासहित जनप्रदर्शन तथा जनसभा आयोजना गरिएको एमालेले जनाएको छ।

बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको र्‍याली ट्राफिकचोकमा पुगेर सभामा परिणत भएको थियो। पार्टीका विभिन्न कमिटी, जनवर्गीय संगठन र स्थानीय संरचनाहरूलाई जिम्मेवारी तोकेर विशेष तयारीका साथ कार्यक्रम सञ्चालन गरिएको एमालेको भनाइ छ।

सभामा पार्टीका नेता छविलाल विश्वकर्मा, लिला गिरि, दधिराम न्यौपानेलगायतको सहभागिता रहेको थियो। जनप्रदर्शनलाई संगठन सुदृढीकरण र नयाँ पुस्तामा राजनीतिक चेतना जगाउने अवसरका रूपमा लिइएको एमालेले जनाएको छ।