२०८२ मंसिर २९
बुटवल, २९ मंसिर ।
नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टी अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।
सोमबार ओली र पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । ओलीले तेस्रो कार्यकालका लागि नेतृत्वमा उम्मेदवारी दिएका हुन् । दुई कार्यकाल अध्यक्ष भइसकेका ओलीले विधान संशोधन गराएर दुई कार्यकालको सीमितता सम्बन्धी प्रावधान र ७० वर्षे उमेरहदलाई खारेज गराएका थिए ।
पोखरेल भने १०औँ महाधिवेशनपछि वरिष्ठ उपाध्यक्ष पदमा रहँदै आएका छन् । उनले पनि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।
उम्मेदवारी दर्ता समय सकियो

नेकपा एमालेको ११औं महाधिवेशनमा उम्मेदवारी दर्ताको समय सकिएको छ ।
निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय सकिएको जानकारी दिएको छ । यो सँगै आयोगले कार्यालयको ढोका समेत बन्द गरेको छ ।महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको छ । अन्य पदाधिकारी र केन्द्रीय सदस्य सहितका पदमा उम्मेदवारी दर्ताको समय सकिएको हो ।
एमालेमा १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदैछ । आज नै उम्मेदवारको सूची सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।