२०८२ पुष २१

राष्ट्रिय स्तरको वर्डक्याम्प नेपाल २०२६ को तयारी
  • लुम्बिनी खोज
  • २०८२ पुष १९, शनिबार १४:११ गते

६ सय भन्दा बढी सहभागिमाझ राष्ट्रिय तथा अन्तराष्ट्रिय बक्ताबाट ज्ञान आदानप्रदान हुने

बुटवल १९ पुस ।
आगामी माघमा रुपन्देहीमा राष्ट्रिय स्तरको वर्डक्याम्प नेपाल २०२६ को तयारी गरिएको छ । ६ सय देखि ८ सय सम्मको सहभागिता रहने अपेक्षा गरिएको कार्यक्रममा सुचना प्रविधिसग सम्वन्धी बृहत छलफल हुने छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय बक्ताबाट ज्ञान आदानप्रदान हुने कार्यक्रममा अहिले सुचना युग अनुसार अत्यन्तै महत्वको रहेको आयोजकले दावी गरेका छन् ।
जनवरी २३ र २४, २०२६ अर्थात माघ ९ र १० गते वर्डक्याम्प नेपाल २०२६ः वर्डप्रेसको महत्त्वपूर्ण कार्यक्रम रुपन्देहीमा हुने र त्यसको तयारीमा आफूहरु लागि परेको वर्डक्याम्प नेपाल २०२६ का लोकल लिड कृष्ण न्यौपानेले बताए । रुपन्देहीको मणिग्राम विश्राम बाटिकामा आयोजना हुने यस कार्यक्रमलाई प्रविधि र व्यापारको केन्द्रका रूपमा उदाउँदै गरेको लुम्बिनी प्रदेशको लागि एउटा महत्वपूर्ण अवसरको रूपमा हेरिएको आयोजकले जनाएका छन् ।
काठमाडौंमा मात्र केन्द्रित नभई, देशका अन्य भागहरूमा पनि वर्डप्रेसको ज्ञान र अवसरहरू
पुर्याउने उद्देश्यका साथ रुपन्देहीलाई यो सम्मेलनको आयोजना स्थलको रूपमा छनोट गरिएको न्यौपानेले बताए । उनका अनुसार यो कदमले नेपालको बढ्दो डिजिटल अर्थतन्त्रलाई टेवा पुर्याउने अपेक्षा गरिएको छ । जहाँ वर्डप्रेसले वेबसाइट निर्माण, सामग्री व्यवस्थापन र ई–कमर्स समाधानमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।
राष्ट्रिय स्तरको वर्डक्याम्पको रुपमा यस कार्यक्रमलाई लिइएको भन्दै उनले यस कार्यक्रमले देशभरका वर्डप्रेस पेशेवरहरु र समुदायका सदस्यहरुलाई एकै ठाउमा ल्याउने आयोजकले विश्वास लिएका छन् । उस कार्यक्रमले लुम्बिनी प्रदेशलाई वर्डप्रेस इकोसिस्टमको नया केन्द्रको रुपमा स्थापना गर्ने न्यौपानेले बताए । यो समुदाय केन्द्रीत कार्यक्रम सहकार्य, सिकाई र नेटवर्किङमा केन्द्रित छ, यसको उद्देश्य एउटै प्लेटफर्म मार्फत डेभलपर, डिजाइनर, ब्लगर, व्यावसायी, विद्यार्थी र खुला स्रोत योगदानकर्ताहरुलाई जोडेर राष्ट्रिय वर्डप्रेस समुदायलाई मजबुत बनाउनु हो,–न्यौपानेले भने ।
वर्डक्याम्प नेपाल २०२६ ले विगतका सफल कार्यक्रमहरूको विरासतलाई निरन्तरता दिँदै सिक्ने, नेटवर्क बनाउने र समुदाय निर्माण गर्ने अवसर प्रदान गर्नेछ। बुटवल–भैरहवा र लुम्बिनी जस्ता महत्वपूर्ण स्थानको नजिकै रहेको तिलोत्तमा नगरपालिकाको मणिग्रामको छनोटले तराई क्षेत्रका साथै अन्य ठाउँबाट पनि सहभागीहरूलाई आकर्षित गर्ने विश्वास गरिएको आयोजकले बताए ।
वर्डक्याम्प नेपाल २०२६ का ग्लोबल लिड राकेश लवाजुले कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका वक्ताहरु सहभागि हुने भएकाले धेरै कुरा सिक्न मद्दत मिल्ने धारणा राखे ।
आयोजकका अनुसार कार्यक्रमको पहिलो दिन विभिन्न टिम र समूहमा सहभागी भई सहयोग, सिकाइ र भविष्य निर्माणमा प्रत्यक्ष योगदान दिन सकिने गरि कार्यक्रम तय गरिएको छ । त्यस्तै दोस्रो दिन जनवरी २४ मा विशेषज्ञ वक्ता, प्यानल छलफल र व्यवहारिक कार्यशालाहरू हुने भएका छन् । वर्डप्रेस सम्बन्धी नयाँ प्रवृत्ति, उत्तम अभ्यास र नवीनतम जानकारीहरू सिक्ने अवसर त्यस दिन हुने आयोजकले बताएका छन् ।
वर्डक्याम्प नेपाल २०२६ ले नेपालभरिका वर्डप्रेस प्रेमीहरू, डेभलपर, डिजाइनर, कन्टेन्ट क्रिएटर र प्रयोगकर्तालाई एकै ठाउँमा ल्याउने र ज्ञान बाँड्न, विचार साट्न र नयाँ सहकार्यको सुरुवात गर्न यो उत्कृष्ट अवसर हुने हुदा कार्यक्रम निकै महत्वपूर्ण रहेको न्यौपानेले बताए ।