२०८२ पुष ३०

संस्थापनको घोषणासँगै चुनावको मुखमा फुट्यो कांग्रेस
  • लुम्बिनी खोज
  • २०८२ पुष ३०, बुधबार १३:२९ गते

काठमाडौ, ३० पुस ।
नेपाली कांग्रेसको संस्थापन समूहले दुई महामन्त्री र एक सहममन्त्रीलाई पाँच वर्ष अवधिका लागि निष्कासनको घोषणा गरेसँगै पार्टी विभाजनतिर उन्मुख भएको छ ।बुधबार पार्टी कार्यालय सानेपामा बसेको संस्थापन पक्षको केन्द्रीय समिति बैठकले महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मासहित सहमहामन्त्री फर्मुलाह मन्सुरलाई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्कासनको घोषणा गरेको हो ।
अब विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डपबाट नयाँ नेतृत्व चयनको तयारी गरेको छ । यसअघि पार्टीभित्र विवाद मिलाउनका लागि पटक पटक भएपनि सहमति जुट्न सकेको थिएन ।बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकले दुई पक्षबिच भएका वार्ताबारे जानकारी गराउँदै महामन्त्रीद्वयको हठका कारण सफल हुन नसकेको जिकिर गरेका थिए।
महामन्त्री थापा र शर्मासँग बुधबार बिहान सभापति शेरबहादुर देउवाको छलफल निष्कर्षमा पुगेको थिएन। त्यसपछि पनि सभापति देउवा र महामन्त्रीका पक्षधरहरूबिच सहमतिको प्रयास भए पनि त्यसले सार्थकता पाउन सकेन।
महामन्त्रीद्वयका तर्फबाट पेस भएका विभिन्न मागमध्ये भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा गगन थापालाई प्रस्तुत गर्न संस्थापन पक्ष तयार भएन। सभापति देउवालाई नेतृत्वबाट निष्क्रिय हुन तथा पार्टी सञ्चालनका लागि हाइकमान्ड बनाउने माग पूरा गर्न संस्थापन पक्ष तयार नभएपछि वार्ता असफल भएको थियो।