२०८२ माघ ६

असल नेतृत्व वक्तृत्वकला प्रतियोगिताको छनौट कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८२ माघ ५, सोमबार १६:०५ गते

बुटवल ५ माघ ।
शुभयात्रा नेपाल रूपन्देहीले आयोजना गरेको तिलोत्तमा नगरस्तरीय असल नेतृत्व वक्तृत्वकला प्रतियोगिताको छनौट चरण अन्तर्गत वडानम्बर १४ को छनौट कार्यक्रम सम्पन्न भएको छ । नगरभित्र बसोबास गर्ने सत्र वटै वडाका मा.वि. तहका विद्यार्थीबीच “असल नेतृत्वमा आधारित” प्रतिस्पर्धा गराउने अभियान अन्तर्गत यो कार्यक्रम भएको संस्थाले जानकारी दिएको छ ।
प्रतियोगिता उद्घाटन गर्दै तिलोत्तमा नगरपालिका वडानम्बर १४ का वडाध्यक्ष अश्विवन पौडेलले पञ्चसूत्रीय योजना सहित शुभयात्रा नेपालले अंगीकार गरेका आफ्ना वडाका समस्या र सम्भावनाको वक्तृत्वकला प्रतियोगिताको प्रशंसा गरे ।
शुभयात्रा नेपाल टिकुलीगढ समितिका संयोजक पुनम चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै संस्थाका केन्द्रीय अध्यक्ष मधुसुदन गैह्रेले पञ्चसूत्रीय योजना सँगै अन्य रचनात्मक क्रियाकलापमा संस्था गतिशील भएको बताए । उनले नेपालका देवभूमिक्षेत्र, ७ प्रदेशमा एक एक वटा चरण क्षेत्र, क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र , फोहरमुक्त नेपाल र पर्यटनका पञ्चसूत्रीय योजनामा शुभयात्रा नेपाल केन्द्रित भएको जानकारी दिए ।
कार्यक्रममा प्रतियोगिताको प्रस्तुतिपश्चात सबै सहभागीलाई पृष्ठपोषण समेत दिइएको निर्णायक मण्डलका सदस्य शिव प्रसाद अर्यालले जानकारी दिए ।
प्रारम्भिक प्रशिक्षण एवम् छनौट प्रतियोगितामा पहिलो हुँदै श्री टिकुलीगढ मा.वि.का सपना भुषालले नगरस्तरीय अन्तिम प्रतियोगितामा प्रवेश गरेको निर्णायक मण्डलका संयोजक स्थानेश्वर बस्यालले बताए । त्यस्तै, प्रतियोगितामा दोस्रो हुने श्री दुर्गा संस्कृत वेद बिदाङ्ग विद्यापीठका रमण प्रसाद बस्याल र तेस्रो हुने दुर्गा मा.वि.का हिरा भणडारी पुरस्कृत भएको निर्णायक मण्डलका संयोजक गोविन्द बस्यालले जानकारी दिए ।
शुभयात्रा नेपाल टिकुलीगढ समितिका सचिव सुकमाया गुरुङको सञ्चालन र समितिका सदस्य सह संयोजक केसरी उपाध्यायको स्वागतमा भएको कार्यक्रममा बिष्णु कुमारि पुन, गणेश गुरुङ, मोहन सुवेदी, चक्र प्रसाद पुन, पुर्व केन्द्रीय सदस्य श्रवण ढुंगाना, तिलोत्तमा नगर संयोजक ईश्वरी प्रसाद पाण्डे, तिलोत्तामा ७ भलवारिका संयोजक, सरस्वती गैह्रे, नरवदा वाग्ले लगायतको उपस्थिति रहेको थियो ।
अब हुने कार्यक्रम वडा न १६ को माघ ९ गते र वडा न. १७ को माघ १० गते कार्यक्रम हुने जिल्ला अध्यक्ष मुक्तिनाथ गैह्रेले जानकारी दिए ।