२०८२ माघ ११

नेकपा रुपन्देही–५ द्वारा ५ हजार १ सदस्यीय निर्वाचन परिचालन समिति गठन
  • लुम्बिनी खोज
  • २०८२ माघ ११, आईतवार ०२:२७ गते

लुम्बिनी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुपन्देही क्षेत्र नं ५ ले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ५ हजार १ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । शनिबार सम्पन्न क्षेत्र नं ५ को विस्तारित बैठकले हिराबहादुर रोकाको संयोजकत्वमा तथा अर्जुन ढकालको सह–संयोजकत्वमा निर्वाचन परिचालन मूल समिति गठन गर्ने निर्णय गरेको हो ।
पार्टीका अनुसार मूल समितिअन्तर्गत निर्वाचनलाई प्रभावकारी, व्यवस्थित र जनमुखी बनाउन विभिन्न उपसमितिहरू गठन गरिएको छ । जसअन्तर्गत दिपक पन्थ संयोजक र प्रेम पुन सह–संयोजक रहने गरी ५ सय १ सदस्यीय युवा परिचालन समिति गठन गरिएको छ । उक्त समितिले युवालाई केन्द्रमा राख्दै चुनावी अभियान सञ्चालन गर्ने पार्टीको भनाइ छ ।

त्यसैगरी, प्रचार–प्रसार समितिमा रोमनाथ गैरे, रमेश गैरे, अम्बिका परियार, अल्ताफ खान, सन्तोष परियार, दिपक कलवार र अन्जना चौहान रहेका छन् । आर्थिक समितिमा मानबहादुर महत संयोजक र इनाथतुल्ला खान सह–संयोजक रहेका छन् भने निर्वाचन अनुगमन समितिमा हस्तबहादुर सावर संयोजक र सफिउर उर्फ अन्सारी सह–संयोजक रहेका छन् ।
महिला परिचालन समितिमा शारदा घिमिरे संयोजक र दिपिका शर्मा सह–संयोजक चयन भएका छन् । यस्तै, प्रतिबद्धता पत्र तथा घोषणा पत्र निर्माण समितिमा सोमनाथ शर्मा, रोमनाथ न्यौपाने, सफिउर उर्फ अन्सारी, पुष्पराज शर्मा, मौसमी पुन, अल्ताफ खान, महेन्द्र यादव, विनोद पुन र दानबहादुर घर्ति रहेका छन् ।
त्यसैगरी, विक्रम यादव संयोजक रहेको मतदाता सम्पर्क तथा जनसम्बन्ध समिति तथा रुकमागत घिमिरे संयोजक र जगत क्षेत्री सह–संयोजक रहेको कानुन तथा निर्वाचन आचारसंहिता समिति गठन गरिएको छ ।
बैठकले निर्वाचन परिचालन समितिको कार्यालय लुम्बिनीमै रहने निर्णयसमेत गरेको छ । बैठकमा बोल्दै नेकपाका तर्फबाट क्षेत्र नं ५ का प्रतिनिधिसभा उम्मेदवार वकील मुसलमानले आगामी निर्वाचनमा पार्टीको जित सुनिश्चित भएको दाबी गर्दै सबै नेता–कार्यकर्ता एक ढिक्का भएर चुनावी प्रचार–प्रसारमा सक्रिय रूपमा लाग्न आग्रह गरे ।