२०८२ माघ १८
बुटवल, १८ माघ ।
नेपाली कम्युनिष्ट पार्टी का नेता तथा पाल्पा क्षेत्र नम्बर २ का उम्मेदवार सोमप्रसाद पाण्डेले पाल्पाको समृद्धिमा योगदान दिन आफू चुनावी मैदानमा उत्रिएको बताएका छन् । पाल्पाली जनताको मायाले विगतमा निर्वाचित भएको र मन्त्रीसम्म बनेर पाल्पाको विकासमा गरेको योगदान सबैका सामु रहेको भन्दै विगतमा शुरु गरिएको योजना पुरा गर्न तथा थप योजनाहरु अगाडी बढाउन आफू निर्वाचित हुन खोजेको उनले बताए ।
पाल्पाको तानसेनलाई सुन्दर पर्यटकीय ऐतिहासिक शहर बनाउने योजना देखि पाल्पाको समग्र विकासका योजना आफूसग रहेको पनि उनले बताए । नेता पाण्डेले आईतबार बुटवलमा पत्रकार भेटघाटको आयोजना गरी पाल्पाको तानसेनलाई लुम्बिनीसंग जोडेर विकास गर्न चाहेको बताए । पाण्डेले पाल्पाको विकासमा आफू पदमा रहँदा मात्र नभई नरहँदा पनि निरन्तर भूमिका निर्वाह गरेको उल्लेख गरे। सिद्धार्थ राजमार्ग अन्तरगत शिद्धबाबामा सुरुङमार्ग निर्माणको पहल र प्रस्ताव सबैभन्दा पहिले आफूले गरेको भन्दै पहिलो पटक विं.सं २०७५ सालमा तत्कालिन अर्थमन्त्री युवराज खतिवडालाई प्रस्ताव पेश गरेको बताए । सुरुङमार्ग निर्माणको लागि आफूले सडक विभागसंग समन्वय गर्दा विभागले सुरुङमार्ग सम्बन्धी बिज्ञ इन्जीनियर नेपालमा नभएको बताएपछि आफूले स्वीजरल्याण्डका राजुतलाई विज्ञ झिकाउन र सहयोग गर्न अपिल गरेर डिजाइन गरिएको पाण्डेले उल्लेख गरे । १० अर्ब रुपैयाँ सुनिश्चित गरी बजेट ब्यवस्थापन समेत गरेर हाल निर्माण भइरहेको सुरुङमार्गले तिनाउबासी मात्र नभएर पाल्पा आउनेजाने सबै यात्रुलाई अब सहज हुने पाण्डेले बताए ।
पूर्वमन्त्री समेत रहेका उम्मेद्वार पाण्डेले तानसेनसंग जोडेर माडीमा चक्रपथ निर्माण, हार्थोक–छहरा, तानसेन—पोखरा सडकको स्तरोन्नति लगायतका विकास निर्माणका काममा आफूले पहल गरिरहेको उल्लेख गरे ।
पाल्पाबासीसंग सुखदुःखमा सधै संगै रहेको भन्दै उनले चुनाव प्रचारका क्रममा पाल्पाली जनताले दर्शाएको माया तथा साथले आफू उत्साहित भएको बताए ।