२०८२ माघ २९
बुटवल, २९ माघ ।
नेपाली काँग्रेसका उपसभापति विश्व प्रकाश शर्माले काँग्रेस पार्टी आगामी निर्वाचनबाट बहुमतका साथ देशकै पहिलो र ठूलो दल बन्ने दाबी गरेका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनबाट सबैभन्दा ठूलो र पहिलो दलको रुपमा आउने उनको भनाइ छ । उनले देशका विभिन्न स्थानमा पुग्दा र प्राप्त गरिएको विभिन्न ठाउँको सूचनाबमोजिम काँग्रेस पहिलो पार्टी बन्ने बताए । काँग्रेस रुपन्देहीले बिहीबार भैरहवामा गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पार्टी सदस्य भेटघाट कार्यक्रममा उपसभापति शर्माले काँग्रेस फेरी ठूलो दलको रुपमा देशको नेतृत्व गर्ने गरी बहुमतको दिशातर्फ अग्रसर भइरहेको जिकिर गरे । ‘काँग्रेसले धेरै निर्वाचनहरु जितेको छ । जित्ने कुरा हाम्रा लागि नौलो कुरा होइन, कयौं निर्वाचन हामी हारेका छौं । हार्ने कुरा पनि काँग्रेसको जिन्दगीमा नौलो कुरा होइन । तर, यो निर्वाचन कुन दल र उम्मेदवारले जित्ने भन्दा पनि अझ विशेष, गहन र गम्भीर छ, ’उनले भने ।
पूर्व गृहमन्त्री तथा काँग्रेसका पूर्व केन्द्रीय सदस्य बालकृष्ण खाणले आगामी फागुन २१ गते हुने निर्वाचनमा काँग्रेसको बहुमत आउन जरुरी रहेको बताए । उनले काँग्रेसका सबै नेता–कार्यकर्ता एकताबद्ध भएर पार्टीका उम्मेदवारलाई जिताउन आग्रह गरे ।
पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले मुलुकको समस्याको समाधान काँग्रेसले मात्रै गर्न सक्ने बताए । रुपन्देहीका ५ वटा निर्वाचन क्षेत्रबाट प्रतिनीधि सभा निर्वाचनमा उम्मेदवार बनेका क्षेत्र नं. १ का हिराबहादुर खत्री, क्षेत्र नं. २ का चुन्नप्रसाद पौडेल, क्षेत्र नं. ३ का सुशिल गुरुङ, क्षेत्र नं. ४ का आशुतोष मिश्रा र क्षेत्र नं. ५ का भरतकुमार शाहले समेत सम्बोधन गरेका थिए । काँग्रेस लुम्बिनी प्रदेश निर्वाचन परिचालन समिति संयोजक राजु खनालले फागुन २१ हुने निर्वाचनपछि काँग्रेस नेतृत्वको सरकार बने मात्र जेनजी पुस्ताले उठाएको माग सम्बोधन गर्न सकिने बताए । कार्यक्रममा काँग्रेस रुपन्देही जिल्ला सभापति रामकृष्ण खाण, पूर्व केन्द्रीय सदस्य गंगा शाही ,सचिव हरि काफ्ले लगायतले बोलेका थिए ।